कपिलवस्तु, कात्तिक १ –
कपिलवस्तु नगरपालिका वडा नं. ९ मा अवस्थित जगदिशपुर ताल केवल एक जलाशय मात्र होइन, यो प्रदेश र राष्ट्र दुवैका लागि अमूल्य प्राकृतिक सम्पदाको रूपमा परिचित छ। नेपालको सबैभन्दा ठूलो कृत्रिम तालको रूपमा चिनिने जगदिशपुर ताल लुम्बिनी प्रदेशको पर्यावरणीय, आर्थिक र पर्यटन सम्भावनाको मुख्य केन्द्रबिन्दु बनेको छ।
सन् २००३ मा यस ताललाई अन्तर्राष्ट्रिय महत्वको जल भूमि (च्बmकबच क्ष्तभ) घोषणा गरिएको हो । नेपालका १० वटा रामसार साइटमध्ये जगदिशपुर ताल अत्यन्तै महत्वपूर्ण मानिन्छ। करिब २२५ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल कपिलवस्तुको हरियाली र प्राकृतिक सौन्दर्यको प्रतीक बनेको छ। यसले केवल जैविक विविधता संरक्षणमा मात्र होइन, कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ।
स्थानीय बासिन्दाका अनुसार जगदिशपुर ताल कपिलवस्तु जिल्ला मात्र होइन, लुम्बिनी प्रदेशकै गौरव हो। यहाँको पानीले हरेक वर्ष सयौँ हेक्टर खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पु¥याउँछ। यसै कारण यस तालले कृषि उत्पादनमा वृद्धि र किसानहरूको आर्थिक सुधारमा ठुलो सहयोग पु¥याएको छ।
पर्यावरणविद्हरूका अनुसार यो ताल जैविक विविधताको धरोहर हो। हिउँदका महिनामा हजारौँ परदेशी जलपक्षीहरू यहाँ आइपुग्छन्। बकुल्ला, सारस, सुगन, हाँस, जलकुकुर, लगायतका दुर्लभ प्रजातिका पक्षीहरू यहाँ देख्न सकिन्छ। पक्षी अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।
ताल वरिपरि हरियाली र प्राकृतिक दृश्यावलोकनले पर्यटकलाई आकर्षित गर्छ। स्थानीयवासीहरूले ताल संरक्षणसँगै पर्यटन विकासका प्रयासमा जोड दिइरहेका छन्। हालका वर्षहरूमा यहाँ होमस्टे, डुंगा घुम्ती र स्थानीय गाइड सेवाहरू सञ्चालनमा आएका छन्, जसले स्थानीय युवालाई रोजगारीका अवसर पनि दिएको छ।
त्यस्तै, शैक्षिक र अनुसन्धानात्मक दृष्टिले समेत यो ताल महत्वपूर्ण मानिन्छ। विश्वविद्यालयका विद्यार्थी, वातावरणविद् र अनुसन्धानकर्ताहरू यहाँको अध्ययन गर्न बारम्बार आउने गर्छन्। जगदिशपुर ताल ‘प्राकृतिक प्रयोगशाला’ (ष्खिष्लन बिदयचबतयचथ) का रूपमा स्थापित हुँदै गएको छ। स्थानीय समाजका लागि यो ताल सांस्कृतिक दृष्टिले पनि विशेष महत्व राख्छ। यहाँ विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, र सामुदायिक गतिविधिहरू हुने गर्छन्। यसले समुदायबीचको एकता र सहकार्यको भावना मजबुत बनाएको छ।
तर, संरक्षणको दृष्टिले यो ताल केही चुनौतीको सामना पनि गरिरहेको छ। अनियन्त्रित फोहर व्यवस्थापन, अतिक्रमण र जलवायु परिवर्तनका कारण तालको प्राकृतिक संरचनामा असर परिरहेको छ। स्थानीय सरकार र सरोकारवाला निकायहरूले संरक्षण तथा व्यवस्थापन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।
कपिलवस्तु नगरपालिकाका वडा नं. ९ निवासी हिरालाल पौडेलका अनुसार, “जगदिशपुर ताल कपिलवस्तुको पहिचान हो। यसको संरक्षण र दिगो विकास नगरपालिकाको प्राथमिकतामा परेको छ।” उहाँका अनुसार नगरपालिकाले ताल क्षेत्रको सौन्दर्यकरण, पर्यटकमैत्री पूर्वाधार विकास र स्थानीय सहभागितामूलक संरक्षण कार्यक्रम अघि बढाइरहेको छ।
पर्यटन, कृषि र जैविक विविधतासँग जोडिएको यो जलाशय कपिलवस्तुको विकासको मेरुदण्ड बन्न सक्ने सम्भावना बोकेको छ। यसको दिगो संरक्षण र व्यवस्थापन गर्न सकेमा जगदिशपुर तालले लुम्बिनी प्रदेश मात्र होइन, सम्पूर्ण देशको पर्यावरणीय र आर्थिक समृद्धिमा नयाँ उदाहरण स्थापित गर्ने विश्वास गरिएको छ।
तस्विर ऋषि पौडेल








प्रतिक्रिया