अदानचुली (हुम्ला), १४ कात्तिक
हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका १० हजार बढि नागरिकले गाउँछोडेका छन् । असारमा लगाइएको धान, मकै, कोदो, सिमिलगायतको बर्खे बाली भित्र्याएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौसमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् ।
गएको एक सातामामात्रै जिल्लाको तल्लो क्षेत्रमा रहेका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट उँपालिकाकामात्रै १० हजार ३०० नागरिकले जिल्लाबाट बाहिर जाने टिकट काटेको संयुक्त टिकट बुकिङ काउन्टर प्रालि हुम्लाका प्रमुख प्रमोद बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही धन कमाउनका लागि भारत गएका छन् भने केही विभिन्न सहरमा पढ्नका लागि भन्दै गाउँ छाडेर गएका छन्”, जिल्लाको दक्षिण क्षेत्रमा भएका सबै बुकिङ काउन्टरको रेकर्डअनुसार केही दिनयता ठूलो सङ्ख्यामा जिल्ला बाहिर जाने व्यक्तिले टिकट लिएका छन् ।”
संयुक्त टिकट बुकिङ काउन्टर प्रालिबाट टिकट लिएको रकेर्डअनुसार सात हजार १४५ जना पुरुष र तीन हजार १५५ जना महिला छन् । उनिहरूमध्ये केही युवा विद्यार्थी अध्यनन गर्न गएको भए पनि अन्य नागरिक रोजगारीका लागि भारत गएको बताइएको छ । यतिबेला अधिकांश सहरी क्षेत्रतिर अध्ययनसँगै काम रहेका छन् ।
बिहीबार जिल्ला बाहिरका लागि तीन वटा बस भरिभराउ भएर छुटे पनि केही नागरिक गाडी नपाउँदा सर्केगाडमै बस्नुपरेको छ । गाउँको सबै काम सकेर खेतबारीमा गहुँ छरेपछि हिउँदको समय गाउँमा काम नहुने भएपछि आफूहरू मौसमी रोजगारीका लागि भारत गएको सर्केगाड गाउँपालिका–४ का पाण्डप शाहीले बताउनुभयो । खेतबारीको कामले घरपरिवार पाल्न नपुग्ने भएपछि उपचारलगायत केही आम्दानी गर्ने ध्येयले आफूहरू हिउँदको महिना छिमेकी मुलुक भारत लागेको गएको शाहीको भनाइ छ ।
भारत जान खुला सिमाना भएकाले पनि हुम्लालगायत कर्णाली क्षेत्रका नागरिक मौसमी रोजगारीका लागि हिउँदमा भारततर्फ जाने पुरानै प्रचालन हो । पछिल्लो समय हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि गाउँ छोड्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताएका शाहीले गाउँमा रोजागारका कुनै काम नभएपछि परिवारका लागि एकसरो लुगाफाटोको जोहो गर्नका लागि पनि आफूहरू भारत धाउन बाध्य भएको प्रतिक्रिया दिनुभयो ।
यता जिल्लाको माथिल्लो क्षेत्र खार्पुनाथ, सिमकोट र नाम्खाका अधिकांश नागरिक वर्षे रोजगारीमा जाने गर्दछन् उनीहरूलाई चीनको नाका नजिकपर्ने भएकाले वर्षाको समयमा तिब्बतमा जाने र यतिबेला चिसो मौसममा गाउँ फर्किने गरिरहेका छन् भने विद्यार्थीलगायत अन्य सहरतिर रोजगारी भएकाहरू हवाइमार्गमार्फत सुर्खेत नेपालगञ्ज हुँदै विभिन्न सहरमा गएका छन् । हुम्लालगायत पहाडी क्षेत्रमा मौसम चिसो हुँदै गएकाले लेक बस्तीमा बसिरहेकाहरू कर्णालीको किनार नजिकका घरमा सरिरहेका छन् ।








प्रतिक्रिया