खोज–अनुसन्धान

अनुभूतिः आफैँलाई गुमाएर, आफैँलाई प्राप्त गर्ने अद्भुत यात्रा विपश्यना





काठमाडौँ, २४ कात्तिक

यात्रा ! गन्तव्यमा पुग्ने उत्साह । यही उत्साहका कारण कठिनभन्दा कठिन चुनौती पार गर्न बल मिल्छ । संसार घुम्न सजिलो छ । नाङ्गो आँखाले भ्याएजति देख्न पनि सजिलै छ । तर, कुनै यस्तो एक यात्रा छ, जहाँ पुग्दापुग्दै आफैँ हराइन्छ, आफैँ बिलाइनेछ । आफैँ गुमाएर आफूलाई नै पाउने अनुभूति जगाउने त्यो, एक अद्भुत यात्रा हो ‘अन्तर मनको यात्रा’ अर्थात् ‘विपश्यना ध्यान’ विधि ।

तन–मन शिथिल पारेर थपक्कै बसेर मनको आँखाले शरिरभित्र डुलाउने प्रक्रिया अद्भुत रहेछ । दसैँको मुखैमा विपश्यना शिविर पुगँे । ध्यानका सुरुका तीन चार÷दिन शरीर दुखेर रुन मन लाग्यो । विचारका पहाडहरु चिर्दै, शरीरभरि उठिरहेका बग्रेल्ती सुखद र दुखद संवेदनाहरुको अनुभूति गर्दै अन्तरमन भरी दौडिन साँच्चिकै सजिलो रहिन छ । यसको वास्तविक अनुभूति विपश्यना ध्यान शिविरमा सहभागी भएपछि महसुस गरेँ । 

विपश्यना ध्यान विधिले जिउने कला सिकाउँछ । घण्टौँ पलेटी कसी बसेर आफ्नो श्वास प्रश्वासलाई नियाल्दा धैर्य भई बस्न सक्ने क्षमता विस्तार गराउँछ । पलेटीकसी बस्दा बस्दै छेउछाउका केही साथीहरु घुरेका आवाजहरु कानमा गुन्जिन्थे । बसीबसी निदाएरै १० दिन बताउने साधकहरु पनि थिए । एक साधकले १० दिन पूरा गरेपछि भनिन्, “बाख्राको पुच्छर खाए जस्तै चुलचुले थिएँ, अचम्मै लाग्यो म यतिका दिन कसरी बस्न सकेँ ?” 

उनले भने जस्तै, विपश्यनाले धर्यता, सहनशीलता, आफूप्रतिकै इमानदारीताप्रति आफू नै साक्षात्कार हुन सिकाउँछ । विपश्यना शिविरमा १०  दिन (आर्य मौन बस्ने) सम्म शब्द उच्चारण गर्ने त कुरै भएन कुनै इशारा वा सङ्केत समेत गर्न मिल्दैन । न फोनको घण्टी बज्छ, न त कुनै म्यासेजको टिन टिन सुन्नुपर्छ । न कुनै गाडीको ट्याँ...ट्याँ... न कुनै उद्योगको ध्वनि प्रदूषण । दश दिन बाहिरी दुनियाँबाट पूरै बेखबर हुँदा अन्तरमुखी भएर जिउनुको रस बेग्लै हुने रहेछ । 

विपश्यना ध्यान विधिलाई अपनाइरहदा छैटौँ दिनमा अनौठो महसुस भयो । शरीरभरि तरङ्ग नै तरङ्ग फैलिए । एकपल त म को हुँ ? तरङ्ग मात्रै हुँ ? भन्ने भान भयो । अर्को दिन त्यही संवेदना रुपान्तरित भएर विन्दु–विन्दु (थोप्ला) भएको संवेदना महसुस भयो । थुप्रै विन्दुहरुको समग्र रुप नै शरीर हो कि ? या एक विन्दु मात्रै म हुँ ? शरीरभित्र उत्पन्न हुने र हराउने यी संवेदनाहरुको बेगले म को हुँ ? भनी सोच्न बाध्य बनाउँछ । उत्पन्न सोचहरुबीच ध्यान जारी छ । 

शरीरभित्र उत्पन्न भएका अनेक संवेदनाहरुको लहर चलिहरन्छ ।  केही क्षणमै बम विस्फोट भए जस्तै शरीर पड्किए झैँ भयो । ती ठूला संवेदनाहरु थिए । जसको आवाज थिएन तर, झट्का भने कुनै बमभन्दा कम लागेको थिएन । आत्तिएछु, आँखाभरि डर, त्रास र थोरै रहस्य भाव बोकेर अचार्य गुरु माँलाई सोधँे, “शरीरभरि बम पट्किए जस्तै भयो, अत्यास लाग्यो ।” 

उहाँले मन्दमुस्कान र शालीन भाव पस्किँदै भन्नुभयो, “आत्तिनु पर्दैन । त्यो पनि संवेदना नै हो आउँछ, जान्छ, क्षणभङ्गुर छ । मात्रै साक्षी भावले हेरिरहनु ।” 

वास्तवमा कुनै प्रतिक्रिया बिना नै उत्पन्न भइरहेको घटनाको साक्षी हुनुमै शान्तिको मुहान लुकेको हुँदोरहेछ । यो विपश्यना ध्यान विधिले गराएको अर्को महत्वपूर्ण अनुभूति थियो । जहाँ दुख्छ या पीडा बोध हुन्छ, त्यहाँ जति साक्षी भावले नियाल्यो त्यति छिट्टै बिलीन हुन्छ । फेरि अर्को कुनै ठाउँ अर्को संवेदना जाग्छ । संवेदनाहरु जाग्नु र हराउने प्रक्रिया निरन्तर शरीरमा चरिरहन्छ । संवेदनाहरुको उतारचढावको वेग चुपचाप नियाल्नुमा ठूलो धैर्यता चाहिने रहेछ ।  

शरीरभरि फैलिएका यस्ता अनौठा संवेदनाहरु यसअघि कहिल्यै यति सूक्ष्म तरिकाले महसुस गरेकी थिइन् । दैनिकी भागदौडमा हामीले हाम्रो शरीरको कुन अङ्गलाई यति ध्यान दिन भ्याउँछौँ र ? अझ अन्तर मनको तरङ्ग सुन्ने सुक्षमता त गुमनाम भइसकेको छ । विपश्यना ध्यान विधिले आफूमै केन्द्रित हुन सिकाउँछ । सहन सक्ने शक्ति बढाउछ, दुखाइ र पीडालाई स्वीकार गरेर सहज रुपमा लिने स्वभावको विकास गराउँछ । अझै महत्वपूर्ण सिकाइ भनेको शरीरभित्र दौडिरहेका हरेक प्रकारका संवेदनाहरुप्रति तटस्थ रुपमा साक्षी एवं द्रष्टा भावको जागरण गराउँछ । 

विपश्यनाको सातौँ दिन । पूर्णिमाको रात थियो । चन्द्रमा पूरै उदाएका थिए । चकमन्न रातमा । केही टिम टिम तारा । राति ९ बजेको प्रवचन र ध्यान सकाएर धम्म(ध्यान) सभाबाट त्यस दिनको ध्यान सकेर सुत्ने कक्षमा पुग्दा बाहिर आकाशतिर आँखा पुग्यो । त्यो दिन चन्द्रमा पूर्ण गोलो आकारमा थियो । मनले पूर्णिमा रात रहेको चाल पायो । एकटक उभिएर चन्द्रमा नियाली रहे । उही चन्द्रमा, उही आकाश, अनि यिनै आँखा । तर, चन्द्रमाप्रतिको अनुभूति र बोध भने विगतभन्दा फरक महशुस गरेँ । 

चम्किरहेको चन्द्रमालाई मैले पहिलो पटक उ जस्तो छ त्यस्तै रुपमा देखेँ । पहिला भने चन्द्रमासँग थुप्रै अलङ्कार जोडेर रोमाञ्चित हुन्थेँ । झुटो चन्द्रमाको परिकल्पना गरेर झुटै कल्पनामा रमाउने बानी परेको थियो । तर, त्यो रात चन्द्रमा साँच्चै विशुद्ध चन्द्रमाकै रुपमा नियालेँ । त्यहाँ कुनै प्रतीक जोडिन । उ मलाई हेरिरहेको छ, म उसलाई । हामी मात्रै एक अर्काका द्रष्टा मात्रै थियौँ । कल्पनाको जालो जब विस्तारै विलिन हुन्छ, तब मात्रै वस्तुगत यथार्थ नियाल्न सम्भव हुने रहेछ । यी कुराहरु मैले कतै न कतै सुनेकी थिएँ, अनुभूति गर्न पाएकी थिइन् ।

प्रत्येक वर्ष घुमफिर गरेर रमाइलो गर्ने मेरो स्वभाव छ । सम्भव भएसम्म घुम्ने, डुल्ने । यसै क्रममा अहिलेसम्म चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी), चार हजार १०० मिटर उचाईमा रहेको पाँचपोखरी र चार हजार २५० मिटर उचाईको मर्दी ट्रेकमा पुगेको छु । देशदेखि विदेशसम्मको यात्रा गरेको अनुभूति पनि छ । समुन्द्र, पहाड, हिमाल, तराईको अनुभव । उकाली र ओराली अनुभूति । सबै दृश्यको साक्षात्कार गरेकी मलाई विपश्यनामा पुगेर गरेको अन्तरमनको यात्रा सयौँ गुणा सुखद् रह्यो । 

यात्राको प्रक्रिया कुनै पहाड चढ्नुभन्दा कम सजिलो छैन । यससँगै थुप्रै चुनौतीहरु भोग्नु पनि तयार हुनुपर्छ । आफूभित्रको अन्तरद्वन्द्वको सामना गर्न कठिन छ । तर, जसरी लामो कष्टर पदयात्रापछि गन्तव्यमा पुगेर प्राप्त हुने खुसी जस्तै अन्तरमनको यात्राले दिने आनन्द र उत्सव त्यो भन्दा कहिल्यौँ गुणा बढी हुँदोरहेछ ।

विपश्यनाका लागि शिविरमा नाम दर्ता गर्दा उदासिनको बादल छाएको हामी सबै साधकहरुको अनुहार १० दिनपछि शिविर पूरा गरेर निस्किदा उज्यालो, चम्किलो र एक उत्साह भरिएको जीवन लिएर फर्कियौँ । यस्तो, लाग्दै थियो, ‘मेमरी फूल’ भएको ‘हार्डडिक्स पूरै फर्म्याट’ भएको छ । हलुका र प्रफूलित मुहार लिएर, हामी शिवपुरी सैनिक क्याम्प नजिकबाट घर फिर्ता हुन जमलस्थित ज्योति भवनसम्मको गाडीमा चढ्यौँ ।  

विपश्यना शिविरको एउटै कोठामा बस्ने साथी सुस्मिताले भनिन्, “प्रफूल्लित भएको यो मन अब दैनिक जीवनमा फर्किएपछि कति दिन टिक्ला ?” उनले गरेको यो प्रश्न सबै विपश्वी साधकको साझा चुनौती हो । तर, म भने विपश्यना ध्यान विधिले आत्मबोध गराएको हरेक चुनौतीलाई साक्षी भावले नै हेरौँला भनेर मुस्कानसहित घर फर्किएँ । 

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६