वासिङ्टन, ६ वैशाख (रासस/एएफपी):
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्नेछन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताउनुभएको हो । सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडी भन्नुभएको छ, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले विगत ४७ वर्षदेखि गरेका थिएनन्, त्यो गर्नु मेरो सम्मानको कुरा हुनेछ । सबै ती इरानी पुल चाँडै भत्किनेछन् ।” इरान र अमेरिकाबीच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो । यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ । अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो।








प्रतिक्रिया