कपिलवस्तु, विजयनगर १५ बैशाख
विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा भौतिक पूर्वाधार विकास तर्फ उल्लेखनीय प्रगति गरेको तथ्यांकले देखाएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सिँचाइ क्षेत्रमा भएका कामले ग्रामीण जीवनस्तर सुधारतर्फ सकारात्मक संकेत गरेका छन्। यद्यपि, दीर्घकालीन दिगोपन, गुणस्तर र सेवा विस्तारमा अझै थप ध्यान आवश्यक देखिएको छ।
गाउँपालिकाले करिब ३.९४ किलोमिटर पक्की सडक (पीसीसी, आरसीसी तथा कालोपत्रे) निर्माण गरेको छ भने १२.५९ किलोमिटर कच्ची÷ग्राभेल सडक निर्माणले दुर्गम क्षेत्रका बस्तीलाई पहुँचमा ल्याउन मद्दत गरेको छ। साथै २,८३५.८ वर्गमिटर क्षेत्रमा पेभिङ ब्लक बिछ्याइँदा बजार क्षेत्र तथा आवागमन सहज बनेको छ। यी संरचनाले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको भनाइ छ।
खानेपानीतर्फ तीन वटा योजनाहरू सञ्चालनमा आएका छन्, जसमा पालिका र सेभ द चिल्ड्रेन (करुणा) जस्ता साझेदार संस्थाको सहकार्य देखिन्छ। यसले स्वच्छ खानेपानी पहुँच विस्तारमा सहयोग पु¥याएको छ, तर दीर्घकालीन मर्मत तथा व्यवस्थापनमा स्थानीय संलग्नता मजबुत बनाउनुपर्ने देखिन्छ।
शिक्षा क्षेत्रमा ११ वटा विद्यालय भवन निर्माण तथा मर्मत सम्पन्न हुनु सकारात्मक पक्ष हो। यसले सिकाइ वातावरण सुधार भए पनि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भौतिक संरचनासँगै शैक्षिक सुधारमा समेत जोड दिनुपर्ने आवश्यकता देखिन्छ।
सिँचाइतर्फ ४ वटा योजना कार्यान्वयन भएका छन्, जसअन्तर्गत २.२ किलोमिटर कच्ची नहर मर्मत, ३ वटा तालपोखरी मर्मत तथा १ वटा लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको छ। यसले कृषि उत्पादन वृद्धि र कृषकको आयस्तर सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाई छ।
स्वास्थ्य क्षेत्रमा ३ वटा स्वास्थ्य चौकी भवन मर्मत तथा १ वटा खोप केन्द्र निर्माण सम्पन्न भएको छ। यसले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा मद्दत पुगे पनि सेवा गुणस्तर र जनशक्ति व्यवस्थापन अझै चुनौतीकै रूपमा रहेको छ।
आपतकालीन सेवातर्फ गाउँपालिकामा २०७६÷०७७ देखि एम्बुलेन्स सेवा सञ्चालनमा रहे पनि आफ्नै दमकल नहुँदा छिमेकी पालिकासँग समन्वय गरी सेवा सञ्चालन गर्नुपरेको अवस्था छ। यसले विपद् व्यवस्थापनमा तत्काल प्रतिक्रिया दिन कठिनाइ भएको पालिकाले जनाएको छ ।
समग्रमा, विजयनगर गाउँपालिकाले भौतिक विकासमा उल्लेखनीय प्रगति हासिल गरेको देखिए पनि दिगोपन, गुणस्तर नियन्त्रण, स्थानीय सहभागिता र सेवा विस्तारमा थप रणनीतिक योजना आवश्यक देखिन्छ। आगामी दिनमा पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग र व्यवस्थापनमा ध्यान केन्द्रित गर्न सके मात्रै विकासको वास्तविक प्रतिफल नागरिकले अनुभूति गर्न सक्नेछन्।








प्रतिक्रिया