अन्तर्राष्ट्रिय

बङ्गलादेश : रूपपुर परियोजनामा नयाँ चरण



ढाका, १५ वैशाख (रासस/एएनआई) :

ऊर्जा अभावको चुनौती झेलिरहेको बङ्गलादेशले आफ्नै इतिहासमा पहिलो पटक आणविक उर्जा उत्पादनतर्फ निर्णायक कदम चालेको छ । ईश्वरदी उपजिल्लामा निर्माणाधीन रूपपुर आणविक उर्जा संयन्त्रमा इन्धन लोड गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै देशले दीर्घकालीन ऊर्जा सुरक्षातर्फ महत्त्वपूर्ण प्रगति गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डअनुसार चरणबद्ध रूपमा सञ्चालन भइरहेको यस परियोजनामा मङ्गलबारदेखि इन्धन भर्ने काम थालिएको हो । यो प्रक्रिया संयन्त्र सञ्चालनतर्फको अत्यन्त महत्त्वपूर्ण चरण मानिन्छ, जसले आगामी महिनाहरूमा विद्युत् उत्पादन सुरु हुने आधार तयार पार्छ । सरकारी योजनाअनुसार रूपपुरबाट पहिलो चरणमै कम्तीमा ३०० मेगावाट विद्युत् आगामी अगस्टसम्म राष्ट्रिय ग्रिडमा जोडिने अपेक्षा गरिएको छ । यदि लक्ष्यअनुसार प्रगति भयो भने बङ्गलादेश दक्षिण एसियामा भारत र पाकिस्तानपछि आणविक ऊर्जा उत्पादन गर्ने तेस्रो देशका रूपमा स्थापित हुनेछ । रूसको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो परियोजनाको लागत १२ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । परियोजनाअन्तर्गत विभिन्न एकाइहरूबाट क्रमशः विद्युत् उत्पादन गरिनेछ । पूर्ण रूपमा सञ्चालनमा आएपछि पद्मा नदी किनारमा अवस्थित यस संयन्त्रको कुल उत्पादन क्षमता दुई हजार ४०० मेगावाट पुग्नेछ । सरकारले यसअघि नै चालु वर्षभित्र आणविक ऊर्जा राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य सार्वजनिक गरिसकेको छ । पश्चिम एसियामा उत्पन्न ऊर्जा अस्थिरताको प्रभाव झेलिरहेको बङ्गलादेशका लागि यो परियोजनालाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ । ऊर्जा आपूर्ति स्थिर बनाउने र आयातमा निर्भरता घटाउने उद्देश्यले यो कदम चालिएको अधिकारीहरूको भनाइ छ । यसै सन्दर्भमा, अप्रिल १६ मा बङ्गलादेश आणविक ऊर्जा नियामक प्राधिकरणका अध्यक्ष महमुदुल हसनले रूपपुर संयन्त्रको पहिलो युनिटका लागि आवश्यक कमिसन लाइसेन्स सम्बन्धित निकायलाई हस्तान्तरण गर्नुभएको थियो । यसले संयन्त्र सञ्चालनको कानूनी र प्राविधिक प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ । रूपपुर आणविक उर्जा संयन्त्रलाई बङ्गलादेशको ऊर्जा क्षेत्रको एक ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । पहिलो युनिटमा इन्धन लोडिङ सुरु भएसँगै देशले आफ्नो आणविक ऊर्जा कार्यक्रमलाई व्यावहारिक कार्यान्वयनतर्फ अघि बढाएको सङ्केत दिएको छ । आधिकारिक उद्घाटन अप्रिलको अन्तिम साताभित्र हुने अपेक्षा गरिएको छ । योजना अनुसार, इन्धन लोडिङ सुरु भएको करिब तीन महिनाभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय ग्रिडमा आपूर्ति गरिनेछ । त्यसपछि चरणबद्ध परीक्षण, क्षमता विस्तार र प्राविधिक मूल्याङ्कन गर्दै पूर्ण क्षमतामा विद्युत् प्रसारण गर्ने लक्ष्य डिसेम्बरसम्म राखिएको छ । यसले बङ्गलादेशको ऊर्जा संरचनामा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ । –––

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६