कपिलवस्तु, १५ बैशाख
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले सरकारी विज्ञापन सम्बन्धी विभेदकारी निर्णय खारेजको माग गर्दै स्थानीय तहहरूलाई उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ। महासंघले जिल्ला समन्वय समिति कपिलवस्तु मार्फत संघीय सरकारको निर्णय अवज्ञा गर्न अनुरोध गरेको हो।
महासंघका पदाधिकारीहरूले आज जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य लाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट २०८२ चैत १८ गते जारी गरिएको परिपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उक्त परिपत्रमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको भन्दै महासंघले यसलाई निजी तथा सामुदायिक सञ्चारमाध्यम प्रति विभेदपूर्ण र अन्यायपूर्ण निर्णय भएको ठहर गरेको छ। महासंघका अनुसार यस्तो निर्णयले प्रेस स्वतन्त्रता, निष्पक्ष प्रतिस्पर्धा र सञ्चार क्षेत्रको समग्र सन्तुलनमा नकारात्मक असर पार्नेछ।
ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका जिल्ला अध्यक्ष डिलाराम भुसालको नेतृत्वमा गएको टोलीमा जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाई लगायतका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
महासंघले विज्ञापन वितरण प्रणालीलाई समावेशी, समानुपातिक र पारदर्शी बनाउन सरकारलाई पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ।









प्रतिक्रिया