कपिलवस्तु १७ बैशाख
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई तीन स्पष्ट वर्गमा विश्लेषण गर्दै सरकारको भूमिकालाई सन्तुलित, जिम्मेवार र परिणाममुखी बनाउनु पर्ने आवश्यकता औंल्याएका छन्। उहाँका अनुसार नेपालमा अधिकांश सहकारी संस्था राम्रो अभ्यास, पारदर्शिता र सदस्यमुखी सेवाका कारण सफलतापूर्वक सञ्चालनमा छन् भने केही संस्था व्यवस्थापकीय कमजोरीका कारण समस्यामा परेका छन्। त्यस्तै, सीमित संख्यामा रहेका केही सहकारी भने प्रारम्भदेखि नै दुषित मनसायका साथ स्थापना भई गम्भीर संकट ग्रस्त अवस्थामा पुगेका छन्।

पंथीले पहिलो वर्गका सहकारीसँग सरकारले सहकार्य गर्दै उनीहरूको सफल अभ्यासलाई विस्तार गर्नुपर्ने बताएका छन्। यस्ता संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने, रोजगारी सिर्जना गर्ने र उत्पादन तथा बजार व्यवस्थापनमा योगदान पु¥याउने काम गरिरहेका छन्। दोस्रो वर्गका सहकारीलाई लक्षित गर्दै उहाँले व्यवस्थापकीय क्षमता अभिवृद्धि, तालिम र प्राविधिक सहयोग मार्फत सुधार गर्न सकिने उल्लेख गरेका छन्। “बचत कर्ताको रकम सामान्य सुधार र प्रभावकारी व्यवस्थापनबाट सुरक्षित राख्न सकिन्छ,” उहाँको भनाइ छ।
तर तेस्रो वर्गमा पर्ने समस्या ग्रस्त सहकारीप्रति भने कडा कारबाही अपरिहार्य रहेको उहाँले स्पष्ट पारे। नियामक निकाय र दर्ता अधिकारीकै मिलेमतोमा दुषित उद्देश्यले स्थापना गरिएका यस्ता संस्थाले सहकारी प्रति जनविश्वास कमजोर बनाएको भन्दै पारदर्शी छानबिन, कानुनी कारबाही र पीडितको संरक्षणमा सरकार गम्भीर हुनु पर्ने उहाँको जोड छ।
सहकारी क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सन्दर्भमा यसको सुदृढीकरण अपरिहार्य रहेको पंथीको धारणा छ। उहाँका अनुसार सहकारीले बचत परिचालन, उत्पादन प्रवद्र्धन र स्थानीय रोजगारी सिर्जनामा ठूलो भूमिका खेल्दै आएको छ र उचित नीति तथा नियमनबाट अझै प्रभावकारी योगदान दिन सक्छ।
यसै सन्दर्भमा कपिलवस्तुको बाणगंगामा मुख्यालय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। करिब १२ हजार भन्दा बढी सेयर सदस्य रहेको उक्त सहकारीले प्रत्यक्ष रूपमा ४७ जनालाई रोजगारी प्रदान गरेको छ। सस्तो पसल सञ्चालन, खाद्यान्न तथा तेल बिक्री, अर्गानिक मल उत्पादन जस्ता कार्यक्रममार्फत स्थानीय उत्पादन र उपभोगलाई जोड्ने प्रयास गरिएको छ।
उक्त सहकारीले स्वदेशी उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै सदस्यको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको छ। जिल्लामै तीन वर्ष उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्नुका साथै आधुनिक चारतल्ले भवनबाट सेवा प्रवाह गरिरहेको यस संस्थालाई प्रदेशकै अग्रणी सहकारीका रूपमा लिइन्छ।
समग्रमा, सहकारी क्षेत्रलाई “राम्रो सहकारी, सुधार योग्य सहकारी र कारबाहीयोग्य सहकारी” का रूपमा वर्गीकरण गर्दै पंथीले स्पष्ट सन्देश दिएका छन जहाँ राम्रो छ त्यहाँ सहकार्य, जहाँ कमजोरी छ त्यहाँ सहयोग, र जहाँ बदनियत छ त्यहाँ कडा कारबाही। यही सन्तुलित दृष्टिकोणले मात्र सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्दै मुलुकको अर्थतन्त्रमा यसको योगदान अझ सुदृढ बनाउन सकिने देखिन्छ।








प्रतिक्रिया