जीवनशैली

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो



म्याग्दी, १९ वैशाख:

यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ । यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ । यहाँ ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवतजावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताउनुभयो । “यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “हाल यहाँ जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक चल्न थालेपछि ढुवानी र आवतजावतमा सहज भएको छ ।” सडकको मार्ग खोलेपछि अब बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । विदेशी पर्यटकले पछिल्ला दिनमा मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि दोभानमा चहलपहल घटेको थियो । यातायात सुविधा पुगेपछि यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको व्यवसायी लक्ष्मण घर्तीले बताउनुभयो । धौलागिरि पहिलो र चौथो हिमालको फेदीमा रहेको समथर फाँटमा अवस्थित दोभान शान्त वातावरण र वनजङ्गलका साथै कुनाबन तालको अवलोकन, च्याउ र टुसालगायत परिकारका लागि प्रसिद्ध छ । ‘हाइड्रो भिलेज’ प्रवर्द्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भीरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताउनुभयो । यहाँ बर्खाअघि नै करिब एक किलोमिटर दूरीमा रहेको भीर छिचोलेर सडकमार्ग खुलाउन काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६