कृष्णनगर २५ बैशाख
कपिलवस्तुको कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय तथा स्थानिय गैसस र अन्तराष्ट्रिय दातृ निकायहरुको सहकार्यमा तयार गरिएको उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी प्रतिवेदनले गरीब, सीमान्तकृत तथा सरसफाइको अभाव भएका समुदायहरू अझै पनि गम्भीर स्वास्थ्य जोखिममा रहेको तथ्य उजागर गरेको छ ।
प्रतिवेदनअनुसार उपेक्षित उष्ण प्रदेशीय रोगहरू मुख्यत गरीबी, अस्वच्छ वातावरण, सुरक्षित खानेपानीको अभाव, कमजोर स्वास्थ्य पहुँच तथा चेतनाको कमीका कारण फैलिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सूचीकरण गरेका २० रोगमध्ये नेपालमा १० प्रकारका रोगहरू देखिएका छन्, जसमा कुष्ठरोग, हात्तीपाइले, डेङ्गी, चिकन गुनिया, कालाजार, रेबिज, सर्पदंश, लुतो, फित्ते जुका तथा ट्रकोमा प्रमुख रहेका छन् ।
विशेषगरी उष्ण तथा उप–उष्ण क्षेत्रमा बसोबास गर्ने समुदायहरू यी रोगबाट बढी प्रभावित हुने गरेका छन् । प्रतिवेदनले कृष्णनगर क्षेत्रको भौगोलिक अवस्था, खुला सीमाना, फोहोर व्यवस्थापनको समस्या तथा स्वास्थ्य चेतनाको कमीले रोग नियन्त्रणमा चुनौती थपिएको उल्लेख गरेको छ ।
प्रतिवेदनमा उपेक्षित उष्ण प्रदेशीय रोगलाई “गरीबहरूको पुरानो रोग” का रूपमा व्याख्या गरिएको छ । यस्ता रोगले स्वास्थ्यमा मात्र नभई सामाजिक र आर्थिक क्षेत्रमा समेत गम्भीर असर पार्ने देखिएको छ । रोगका कारण श्रमशक्ति कमजोर हुने, उपचारमा आर्थिक भार थपिने तथा गरिबीको चक्र अझ गहिरिने अवस्था रहेको प्रतिवेदनले औंल्याएको छ ।
हाल नेपाल सरकारले विभिन्न रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको भए पनि स्थानीय तह, समुदाय, स्वास्थ्य संस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । रोग नियन्त्रणका लागि नियमित जनचेतना, सरसफाइ अभियान, सुरक्षित पानी, समयमै उपचार तथा स्वास्थ्य सेवामा सहज पहुँचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि २०३० सम्म उपेक्षित उष्ण प्रदेशीय रोग अन्त्यका लागि मार्गचित्र सार्वजनिक गर्दै “उपेक्षाको अन्त्य गरौँ” भन्ने सन्देश अघि सारेको छ । सोही लक्ष्यअनुसार स्थानीय तहले पनि समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।
उपेक्षित उष्ण प्रदेशीय रोग केवल स्वास्थ्य समस्या मात्र होइन, यो गरीबी, असमानता र सरसफाइसँग जोडिएको सामाजिक चुनौती हो । यस्ता रोग नियन्त्रणका लागि सरकार, स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीच समन्वित प्रयास अपरिहार्य छ । स्वस्थ जीवनशैली, सफा वातावरण, समयमै उपचार र जनचेतनाबाट मात्रै यी रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रतिवेदनको निश्कर्ष रहेको छ ।








प्रतिक्रिया