अर्थ-वाणिज्य

मायादेवी गाउँपालिकाको ९३.७६ प्रतिशत खर्च



कपिलवस्तु, २६ वैशाख

कपिलवस्तुको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, पकडीद्वारा सार्वजनिक गरिएको प्रगति विवरण अनुसार गाउँपालिकाले कुल बजेटको ९३ दशमलव ७६ प्रतिशत खर्च गर्दै विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाएको हो ।
प्राप्त तथ्यांक अनुसार गाउँपालिकाको कुल बजेट ६४ करोड ७८ लाख ६२ हजार रुपैयाँ रहेकोमा ५८ करोड ४१ लाख ३९ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको छ । त्यसमध्ये ५४ करोड ७७ लाख ३३ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको देखिएको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान तथा बजेटतर्फ गाउँपालिकाले सबैभन्दा ठूलो वित्तीय कारोबार गरेको छ । संघीय सरकारबाट प्राप्त ५९ करोड ५० लाख ६१ हजार रुपैयाँ बजेट मध्ये ५२ करोड ७९ लाख ६४ हजार ३ सय ८१ रुपैयाँ आम्दानी भएको थियो । यसमध्ये ४९ करोड ४७ लाख ८५ हजार ९ सय ६२ रुपैयाँ खर्च हुँदा खर्च प्रतिशत ९३ दशमलव ७१ पुगेको छ ।
प्रदेश सरकारबाट प्राप्त अनुदानतर्फ पनि गाउँपालिकाले उच्च वित्तीय अनुशासन कायम गरेको देखिन्छ । ३ करोड २४ लाख ९३ हजार रुपैयाँ बजेट मध्ये ३ करोड ४५ लाख ७ हजार २ सय २५ रुपैयाँ आम्दानी भएकोमा ३ करोड २३ लाख ८५ हजार ९ सय १२ रुपैयाँ खर्च भएको छ । यस क्षेत्रको खर्च प्रतिशत ९३ दशमलव ८५ रहेको छ ।
त्यसैगरी अन्य निकायबाट प्राप्त १५ लाख रुपैयाँ अनुदान शत प्रतिशत खर्च भएको छ । आन्तरिक आयतर्फ पनि गाउँपालिकाले सकारात्मक उपलब्धि हासिल गरेको देखिन्छ । जिल्ला समन्वय समिति सहितको आन्तरिक आय ९४ लाख २० हजार रुपैयाँ अनुमान गरिएकोमा १ करोड १३ लाख २८ हजार भन्दा बढी रकम संकलन भएको छ । उक्त रकम पूर्ण रूपमा खर्च गरिएको विवरणमा उल्लेख छ ।
स्थानीय राजश्व बाँडफाँड तर्फ ९३ लाख ८८ हजार रुपैयाँ बजेट रहेकोमा ८८ लाख ४० हजार रुपैयाँ आम्दानी भएको थियो । त्यस मध्ये ७७ लाख ३३ हजार ५ सय २ रुपैयाँ खर्च भएको छ, जुन ८७ दशमलव ४८ प्रतिशत हो ।
यद्धपि नदीजन्य पदार्थ उत्खननबाट प्राप्त हुने आय भने शून्य रहेको देखिएको छ । यसले प्राकृतिक स्रोतको उपयोग, व्यवस्थापन तथा राजश्व संकलनमा अझै चुनौती रहेको संकेत गरेको छ ।
उच्च खर्च प्रतिशतले गाउँपालिकाले विकास योजना कार्यान्वयन, पूर्वाधार निर्माण, सामाजिक सेवा तथा प्रशासनिक व्यवस्थापनमा सक्रियता देखाएको बुझिन्छ । स्थानीय तहमा बजेट कार्यान्वयन क्षमता बढ्दै गएको संकेतका रूपमा यसलाई हेरिएको छ ।
अर्थ जानकार लेखनाथ भट्टराईका अनुसार बजेट खर्च मात्र नभई खर्चको गुणस्तर, पारदर्शिता र दीर्घकालीन उपलब्धिलाई समेत प्राथमिकतामा राख्न आवश्यक हुन्छ । मायादेवी गाउँपालिकाले आगामी वर्षहरूमा आन्तरिक आयका स्रोत विस्तार, उत्पादनमुखी कार्यक्रम तथा दिगो विकास योजनामा थप जोड दिन सके स्थानीय आर्थिक सुदृढीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने स्थानिय सरोकारवालाहरुको अपेक्षा रहेको छ ।

प्रकाशित : २६ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६