भक्तपुर, २६ वैशाखः ‘सूर्यविनायक मेयर कप जिल्लास्तरीय फुट्सल प्रतियोगिताको उपाधि पाण्डुबजार फुटबल क्लबले जितेको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना, सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा आज सम्पन्न फाइनल खेलमा हेल्दी फुटसल क्लबलाई शून्यका विरुद्ध दुई गोलले हराउँदै पाण्डुबजार क्बब विजेता बनेको हो । विजेता टोलीलाई नगरप्रमुख वासुदेव थापाले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने हेल्दीलाई रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने सूर्यविनायक–२ बालकोटको भविष्य फाउन्डेसनलाई रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना टोली सूर्यविनायक–१ लाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडी निर्भिक थापा, उत्कृष्ट गोलकिपर सविन जोशी श्रेष्ठ र उत्कृष्ट गोलकर्ता विवेक कवाङलाई जनही रु १० हजार, प्रमाणपत्र र मेडल प्रदान गरियो । कार्यक्रममा फुटसल खेलाडी अञ्जली मचामसीलाई नगरप्रमुख थापाले सम्मान गरेका थिए । प्रतियोगितामा जिल्लाभरिबाट २५ टोली सहभागी भएका सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले बताए ।








प्रतिक्रिया