अर्घाखाँची २७ बैशाख ।
शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सामाजिक सञ्जालमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमाथि उठाइएका विभिन्न आरोपबारे स्पष्टीकरणसहित प्रेस विज्ञप्ति जारी गरेका छन्। आर एन ईन्टरटेनमेन नामक फेसबुक पेजमार्फत प्रकाशित सामग्रीप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी विज्ञप्तिमा एम्बुलेन्स खरिद, ग्यास सिलिण्डर प्रयोग तथा कोठा भाडा सम्बन्धी विषयमा वास्तविक तथ्य प्रस्तुत गरिएको छ।
विज्ञप्तिअनुसार देउराली आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खरिद गरिएको एम्बुलेन्स लागत साझेदारीमार्फत खरिद गरिएको हो। कुल लागतको ७५ प्रतिशत रकम रोटरी क्लब र २५ प्रतिशत सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोरेको तथा कानुनी प्रक्रिया पूरा गरी भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी उपप्रमुख गिता भाट सङ जोडेर “१८ वटा ग्यास” सम्बन्धी सामाजिक सञ्जालमा फैलाइएको विषय वास्तविकताभन्दा फरक रहेको दाबी गरिएको छ। नगरपालिकाले ती ग्यास सिलिण्डर विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था तथा प्रशासनिक प्रयोजनका लागि आवश्यकताअनुसार प्रयोग गरिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा ग्यास प्रयोग तथा रिफिलको विवरण तालिकासहित सार्वजनिक गरिएको छ।
कोठा भाडा सम्बन्धमा पनि नगरपालिकाले विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकी तथा प्रशासनिक कामकाज सञ्चालनका लागि आवश्यकताअनुसार कोठा भाडामा लिइएको जनाएको छ। केही कोठा कार्यालय स्टोर, न्यायिक समिति र उपप्रमुखको कार्यकक्षका रूपमा प्रयोग भइरहेको उल्लेख गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपुष्ट सूचना र भ्रम फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
२७ बैशाख २०८३, आइतबार








प्रतिक्रिया