कर्णाली, २९ वैशाख
कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको एकीन विवरण सङ्कलन गरी पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । कृषि, खानेपानीलगायत भौतिक पूर्वाधारमा समेत क्षति पुगेको जनाउँदै सदस्य शर्माले सम्भावित प्राकृतिक विपद्लाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण गर्न सरकारलाई अनुरोध गर्नुभयो । बैठकमा प्रदेशसभा मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्षका लागि प्राथमिकता र आवश्यकतामा केन्द्रित बजेट ल्याउन सरकारलाई सुझाउनुभयो । प्रदेशसभा दलका जीवनबहादुर शाहीले प्राकृतिक विपद्मा खोज तथा उद्धार र राहतका लागि आवश्यक बजेट विनियोजना हुनुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आवको बजेट तर्जुमामा सुधार गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले यथार्थ र कार्यान्वययोग्य बजेट ल्याइने जनाउँदै नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता र आवश्यकताका आधारमा बजेट आउने प्रतिबद्धता जनाउनुभयो । —








प्रतिक्रिया