खोज–अनुसन्धान

शिवमन्दिर सामुदायिक वनको दिगो विकास यात्रा

वन संरक्षणदेखि समुदाय सशक्तीकरण सम्म



कपिलवस्तु, बाणगंगा, १ जेठ

कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बुङ्चीस्थित शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणलाई केवल प्राकृतिक सम्पदाको व्यवस्थापनमा सीमित नराखी समुदायको समृद्धि, वातावरणीय सन्तुलन र सामाजिक सशक्तीकरणसँग जोडेर अघि बढाउने स्पष्ट नीति लिएको छ। “हरियो वन नेपालको धन, शुद्ध वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वन, रूख रोपौँ–वातावरण जोगाऔँ” भन्ने मूल नारालाई आत्मसात गर्दै समूहले वनमैत्री विकासको अवधारणालाई प्राथमिकतामा राखेको हो।
वन क्षेत्र आज केवल जैविक विविधताको संरक्षणको विषय मात्र नभई जलवायु परिवर्तन नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग र स्थानीय समुदायको जीवनस्तर उकास्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यस्तै परिवेशमा शिवमन्दिर सामुदायिक वनले वन संरक्षणसँगै समुदाय केन्द्रित विकासका कार्यक्रमलाई अगाडि बढाउँदै आएको देखिन्छ।
समूहका अध्यक्ष झलक मल्ल ठकुरीका अनुसार वन केवल प्राकृतिक सम्पदा मात्र नभई मानव जीवनको आधार स्तम्भ हो। वनको संरक्षण, संवद्र्धन र सदुपयोग मार्फत समुदायको आर्थिक उन्नति, वातावरणीय सन्तुलन र नागरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने उनको धारणा छ। यसले सामुदायिक वनको भूमिकालाई काठ उत्पादनको सीमित दायराबाट बाहिर निकालेर सामाजिक विकास र मानव जीवनसँग जोडेको संकेत गर्छ।
२०५७ सालमा स्थापना भएको शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूह हाल १९९.४३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। समूहमा १ हजार २ सय ९० उपभोक्ता आबद्ध छन्। शान्तिटोल, उत्तमनगर, जितपुर, बोडगाउँ, बुङ्ची, सिद्धिपुर, हरिहरपुर, ठाकुरापुर र झुँगा लगायतका क्षेत्र यस वनको कार्यक्षेत्रभित्र पर्दछन्। यसले वनको पहुँच र प्रभाव समुदायको व्यापक तहसम्म पुगेको देखाउँछ।
अध्यक्ष झलक मल्ल ठकुरीका अनुसार समूहले वन व्यवस्थापन, वृक्षारोपण, वातावरण संरक्षण, जनचेतनामूलक कार्यक्रम, उद्धार कार्यक्रम तथा सीपमूलक एवं क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूले वन संरक्षणलाई मात्र होइन, समुदायको सहभागिता र आत्मनिर्भरता अभिवृद्धि गर्न समेत योगदान पु¥याएका छन्।
विशेषगरी संघ, प्रदेश सरकार, स्थानीय तह तथा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै वनलाई पर्यटनसँग जोड्ने योजना अघि बढाइएको विषयले सामुदायिक वनको बहुआयामिक सम्भावनालाई उजागर गरेको छ। यदि वन क्षेत्रलाई पर्यावरणीय पर्यटनसँग प्रभावकारी रूपमा जोड्न सकियो भने स्थानीय रोजगारी, आयआर्जन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ।
साधारण सभाले सामुदायिक वनलाई केवल काठ उत्पादनको स्रोत नभई समुदाय विकास, वातावरणीय सन्तुलन र सामाजिक रूपान्तरणको आधारका रूपमा व्याख्या गरेको छ। पछिल्लो समय बढ्दो वातावरणीय चुनौती र जलवायु परिवर्तनको असरबीच यस्ता सामुदायिक अभ्यासहरू अझ प्रभावकारी र समयसापेक्ष देखिन्छन्।
समूहले आगामी दिनमा वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व, पर्यावरणीय चेतना र समुदायको दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। यसले शिवमन्दिर सामुदायिक वन केवल हरियाली जोगाउने अभियान नभई समुदायको साझा समृद्धिको आधार बन्दै गएको सन्देश दिएको अध्यक्षको भनाई रहेको छ।

प्रकाशित : १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६