खेलकुद

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य



काठमाडौँ, २ जेठ

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक÷एक विकेट लिए । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ । —

Powered By  Orson Infotech

प्रकाशित : २ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६