अराज बेल्बासे
शितगंगा, १ जेठ
शितगंगा नगरपालिकाको बजेट अधिवेशन सुरु भएको छ। अधिवेशनमा नगर प्रमुख छविलाल पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा नगरलाई विकास गर्ने दीर्घकालीन योजना अघि सारेका छन्।
नगर प्रमुख पौडेलले चालु आर्थिक वर्षमा सञ्चालन भएका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन सन्तोषजनक रहेको दाबी गरे। उनका अनुसार गौरवका सडकसहित अधिकांश पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेका छन् भने थप सडकमा ग्राभल, कालोपत्रे र ढलान कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
उनले वडा कार्यालय तथा सार्वजनिक भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भएको, सिँचाइ कुलो तथा अन्य पूर्वाधार विकासका कार्य उल्लेखनीय रूपमा सम्पन्न भएको बताए। घुम्ती शिविरमार्फत सेवा प्रवाह, कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम, खोप सेवा, निःशुल्क औषधि वितरण, अल्ट्रासाउन्ड सेवा, शिक्षा सुधार तथा विद्यालय समायोजन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको उनको भनाइ थियो।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र विस्तार, सीप विकास तालिम, महिला, बालबालिका, युवा, दलित, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता विकास तालिम र कानुन निर्माणका कामलाई समेत प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। कृषि उत्पादन वृद्धि गर्न नमुना कृषि फार्म स्थापना गरी कृषक पाठशालाको रूपमा विकास गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि उत्पादन प्रवर्द्धन, शीतभण्डार सञ्चालन तथा कृषि र पशु सेवा केन्द्रमार्फत प्रयोगशाला सञ्चालन गर्ने योजना समावेश गरिएको छ। दूध र मासुमा आत्मनिर्भरता हासिल गर्दै बाह्य निर्यातको लक्ष्यसहित पशुपक्षीमा निःशुल्क खोप, पशु उपचार शिविर, गोठ सुधार, नश्ल सुधार र भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरभित्र रहेका पर्यटकीय क्षेत्रलाई संघ र प्रदेश सरकारसँगको सहकार्यमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति समेत सार्वजनिक गरिएको छ। यस्तै कक्षा १२ सम्मको निःशुल्क शिक्षालाई थप प्रभावकारी बनाउने, शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्ने र गुणस्तर सुधारमा जोड दिने योजना नगरपालिकाले अघि सारेको छ।
स्वास्थ्य क्षेत्रतर्फ विद्यालय तथा स्वास्थ्य संस्थामा ई–हाजिरी प्रणाली लागू गरिने, पूर्णखोप अभियान, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण, विपन्न परिवार तथा स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
त्यसैगरी समुदायस्तरका लिफ्ट खानेपानी योजनाको मोटर मर्मतमा ५० प्रतिशत र विद्युत् महसुलमा ७५ प्रतिशत अनुदानलाई निरन्तरता दिने नीति पनि समावेश गरिएको छ। नगरपालिकाका चार गौरवका आयोजनालाई प्राथमिकता दिइने तथा कालोपत्रे योजनाका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिने योजना रहेको छ।
नगरपालिकाले पहिलो पटक कर्मचारी कार्यसम्पादन मूल्याङ्कनमा दण्ड र पुरस्कार प्रणाली लागू गर्ने भएको छ। साथै जनगुनासो सम्बोधनका लागि द्रुत गुनासो सुनुवाइ प्रणाली स्थापना गर्ने तयारी गरिएको छ।
अधिवेशनमा नगर उपप्रमुख गीता भाटले वर्षायामका कारण क्षति पुगेका मुख्य गौरवका सडक योजनाको मर्मत र पहिरो हटाउने कार्यमा प्रयोग भएका मेसिनको भुक्तानी सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्। विभिन्न १० योजनामा उक्त रकम भुक्तानी गरिने जानकारी दिइयो।
त्यसैगरी खरको छानोमुक्त कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले १७९ लाभग्राहीलाई रकम वितरण गरिएको विवरण पनि सभामा प्रस्तुत गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रस्तुत नीति तथा कार्यक्रमको अध्ययन गरी आगामी बजेट निर्माणका लागि सुझाव दिन सभाका सदस्यलाई आग्रह गरेका छन्।
समग्रमा शितगंगाको आगामी नीति तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहलाई केन्द्रमा राख्दै विकास र आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकता दिएको देखिन्छ।








प्रतिक्रिया