खोज–अनुसन्धान

मदन भण्डारीसितको अन्तिम भेट



जेठ ३
मैले २०३५ साल असारको अन्तिम दिन पहिलोपटक मदन भण्डारीलाई भेटेको थिएँ। तर, २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँसित कहिल्यै भेट हुन सकेन। उहाँ कहिल्यै भेट नहुने गरी हामीलाई सधैँका लागि छोडेर जानुभयो। २०५० साल जेठ ३ गतेको षड्यन्त्रपूर्ण दुर्घटनामा परी उहाँ आफ्ना घनिष्ठ सहयोद्धा जीवराज आश्रितसहित भौतिक रूपले नै हामी सबैबाट सदाका लागि बिदा हुनुभएको थियो।

यसरी, चौध वर्ष दस महिना ९झन्डै १५ वर्ष० मदनसितको निरन्तरको सम्बन्ध–सम्पर्कमा, उहाँसितको मित्रता र सामीप्यमा, अझ सबैभन्दा महत्त्वपूर्ण कुरा आपसी विश्वास र आत्मीयतामा, एउटै कमिटीका सदस्य र सहयोद्धाका रूपमा मैले मदनसितै रहने अवसर पाएको थिएँ। २०३५ साल साउन ४(९ मा धनुषा जिल्लाको कचूरी गाउँमा आयोजित तत्कालीन ‘को–अर्डिनेशन केन्द्र’ को तेस्रो सम्मेलनमा उहाँले ‘केन्द्रीय नेतृत्व’ मा जिम्मेवारी पाउनुभएको थियो। २०५० साल जेठ ३ गते शहादत प्राप्त गर्ने बेलासम्म, जम्मा ४२ वर्षको उमेरमा उहाँले नयाँ शक्तिका रूपमा उदाउँदै गरेको कम्युनिस्ट पार्टीको अत्यन्त लोकप्रिय महासचिव तथा मुलुककै चर्चित र उदीयमान नेताको स्थान बनाइसक्नुभएको थियो।

म त्यसबेला केन्द्रीय कार्यालयको सचिव थिएँ। धेरैले मलाई मदनले विशेष विश्वास गरेको केन्द्रीय सदस्यका रूपमा पनि बुझ्थे। किनभने, जनकपुर अञ्चलको पार्टी प्रमुख भएर काम गरिरहेको मलाई केन्द्रीय कार्यालयमा काम राम्ररी नभइरहेको महसुस गरी कार्यालय सम्हाल्न सक्ने जिम्मेवार व्यक्तिको खोजी गर्ने सिलसिलामा मदनले नै विशेष जोड दिएर केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा ल्याउनुभएको थियो। ९यो प्रसङ्गलाई अहिले पनि त्यसबेला कार्यालयमा उपसचिवका रूपमा काम गर्नुहुने झापा आन्दोलनका एक सक्रिय नेता मनकुमार गौतमले अत्यन्त रोचक ढङ्गले सुनाउने गर्नुहुन्छ।०

केही दिनको काठमाडौँ बाहिरको काम सकेर म केन्द्रीय कार्यालय रहेको बागबजार पुगेको थिएँ। सोचेको थिएँ– त्यहाँ मदनलाई भेटेर बाहिरका सूचनाहरूका आधारमा पार्टी कामको स्थितिका बारेमा सविस्तार जानकारी गराउँला। तर, त्यो हुन सकेन। उहाँ कतै विशेष कार्यक्रममा जानुभएको थियो। राति पनि उहाँसित सम्पर्क हुन सकेन। बिहानै सम्पर्क गर्नुपर्ला भन्ने सोचेको थिएँ, तर उठ्न केही ढिला भएछ। बिहानै मदनले गर्नुभएको फोनको घण्टीले मलाई ब्युँझायो। “कतिबेला बाहिरबाट आउनुभयोरु केही जरुरी सल्लाह गर्नुछ। अहिले नै मैले पोखरा हिँडिहाल्नुपर्ने भएकाले तपाईं जतिसक्दो चाँडो आइहाल्नुस् न १” यति भनेपछि उहाँले अरू धेरै कुरा गर्न चाहनुभएन र फोन राखिहाल्नुभयो।

मलाई भने मनभित्र कताकता मदन कतै घाइते अवस्थामा भए पनि जीवितै भेटिनुहुन्छ कि भन्ने लागिरहेको थियो। दुर्घटना भएको झण्डै ३९ घण्टापछि, जेठ ५ गते बिहान साढे आठ बजे, झण्डै ३२ किलोमिटर टाढा गुञ्जनगरको गाजीपुरमा नारायणी नदीको किनारमा मदनको शव भेटिएको खबर फैलियो।

म त्यसबेला ज्ञानेश्वर चोक नजिकै एउटा घरको भुइँतलामा डेरा गरी बसेको थिएँ भने मदन नक्साल, चारढुङ्गेमा बस्नुहुन्थ्यो। मैले हतार–हतार बिहानका नित्यकर्म सकेर नक्साल पुग्दा झन्डै साढे आठ बजेको थियो। त्यसबेला, २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको थियो र त्यसले कांग्रेसमा भनी नसक्नुको उन्माद जन्माइदिएको थियो। उसमा देखा परेको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण, खासगरी नेकपा ९एमाले० प्रमुख प्रतिपक्षी पार्टी बनेको यथार्थलाई स्वीकार गर्न नसक्ने र मान्यतासमेत दिन नचाहने व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति बनेको थियो।

विचारमा उग्रवामपन्थी अतिवादबाट प्रभावित हुँदै आएको पृष्ठभूमि र स्थानीय रूपमा क्रान्तिकारी वर्ग–संघर्षको व्यवहारमा योग्यतापूर्वक भूमिका खेल्दै आएको शक्ति भएका कारण र मदन भण्डारीजस्तो सशक्त र लोकप्रिय नेता आफूसित भएका कारण तत्कालीन नेकपा ९एमाले० को पार्टी पंक्ति अरिङ्गालको गोलो भएर शत्रु वा विरोधीहरूमाथि जाइलाग्ने मानसिकता बोकेर उभिएको थियो। यस्तो अवस्थामा भर्खर प्रारम्भ भएको संसदीय राजनीति नराम्ररी मुठभेडतर्फ धकेलिँदै थियो। कांग्रेस सरकारका पालामा भएको दमन, सत्ताको दुरुपयोग र भ्रष्टाचार आदिका कारण कांग्रेसविरोधी जनभावना बढिरहेको थियो।

यिनै विषयमा तत्कालीन नेकपा ९एमाले० द्वारा देशव्यापी रूपमा पार्टी परिचालन र विरोध सभाहरू आयोजना गरिएका थिए। प्रायः ती प्रत्येक सभाहरूमा मदन भण्डारी आफ्ना सशक्त विचारलाई ओजस्वी र प्रभावकारी भाषणका माध्यमबाट जनतासमक्ष पुर्‍याउन सम्पूर्ण शक्तिका साथ लाग्नुभएको थियो।

त्यो अवधिमा मदनको प्रभाव र प्रतिष्ठाले शिखर चुम्दै थियो। एमाले पंक्ति र आम जनतामा मदनप्रतिको आकर्षण अभूतपूर्व रूपले बढ्दै गएको थियो। बढ्दो लोकप्रियताकै बीचमा उहाँका बारेमा अनेक अपशकुनले भरिएका सूचना र रहस्यमय समाचारहरू पनि सार्वजनिक हुन थालेका थिए। मदनको लोकप्रियता र प्रतिष्ठाका कारण उहाँलाई नजिकबाट अनुभूत गर्न टाढा–टाढाबाट समर्थक, शुभचिन्तक मात्र होइन, आम जनतासमेत मदन पुग्नुभएका ठाउँमा पुग्ने गर्थे।

यही अभियानको सिलसिलामा २०५० साल जेठ २ गते पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका रूपमा मदन त्यता जान लाग्नुभएको थियो। एक दिन अगाडि अर्थात् जेठ १ गते जीवराज आश्रित मदनले चढ्ने गर्नुभएको बा। अ। च। ८७९३ नं। को गाडीबाट पोखरा जानुभएको थियो। जेठ १ गते काठमाडौँमै विशेष कार्यक्रम भएका कारण मदनले त्यो दिन पोखरा नगई भोलिपल्ट जेठ २ गते जहाजबाट जाने निर्णय गर्नुभएको थियो।

पोखराका लागि हिँड्नुभन्दा पहिले उहाँले लगभग एक महिनाको कार्यक्रमबारे मलाई नोट गराउनुभएको थियो। ९२ जेठ पोखराबाट सुरु भएर चितवन, तेह्रथुम, धनकुटा, विराटनगर, सुनसरी, सिरहा र तनहुँ आदि जिल्लाहरूमा जेठ २६ गतेसम्मका लागि तय गरिएका विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुने गरी उहाँ हिँड्न लाग्नुभएको थियो०। भेटमा मलाई उहाँले यही जानकारी गराउनुभएको थियो।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको तत्कालीन नेपाली कांग्रेसभित्र देखा परिरहेको विकृति वा अलोकतान्त्रिक चरित्र र गतिविधिका विरुद्ध एमालेलगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् कांग्रेसभित्रै पनि यसको विरोध हुन थालेको थियो, जसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो। यसरी गिरिजाले नेतृत्व गरेको कांग्रेसी सर्वसत्तावादका विरुद्ध एउटा बृहत् मोर्चाबन्दी बनिरहेको थियो, जसमा कांग्रेसभित्रकै नेताहरूको पनि सहभागिता थियो। यही मोर्चाबन्दीको एउटा महत्त्वपूर्ण व्यक्ति मदन भण्डारी पनि हुनुहुन्थ्यो। यही सिलसिलामा मदनको गणेशमानजीसित धेरै पटक भेटघाट र छलफलहरू भएका थिए। मलाई लाग्छ, उहाँहरूका बीचमा केही महत्त्वपूर्ण समझदारीसमेत बनेका थिए।

हामी दुईजना मात्रै भएको लगभग एक घण्टा जतिको त्यो भेटमा उहाँले यही जानकारी तथा अन्य केही सम्भावित विषयहरूतर्फ पनि सङ्केत गर्नुभएको थियो। गणेशमानजीहरूसित त्यसबीच पटक–पटक भएका भेटघाटबारे जानकारी गराउँदै आफू काठमाडौँ बाहिर रहेका बेला मलाई सम्पर्क विन्दुका रूपमा उहाँहरूलाई सम्पर्क गर्न भन्नुभएको थियो। त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्यान्डलाइन टेलिफोन नम्बर दिनुभएको र कुनै पनि बेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरुन्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरणसहितको एउटा टिपोट दिनुभएको थियो।

मैले त्यसबेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहेँ, आवश्यक कुराहरू नोट गरेँ र केही जिज्ञासा पनि राखेँ। यी सबै कुराका बारेमा जानकारी गराइरहँदा मदन गम्भीर देखिनुहुन्थ्यो। त्यसबेला मेरो मनमा ‘यी सबै कुरा अरू नेताहरूलाई थाहा छ कि छैन होला रु’ भन्ने लागेको थियो । तर पनि मैले मदनलाई यो प्रश्न गरिनँ । उहाँले नै बरु भन्नुभएको थियो( “यी धेरै गम्भीर र दूरगामी महत्त्व राख्ने विषय हुन्, कसैसित पनि यससम्बन्धी कुरा नगर्नुहोला, गोपनीयता बचाउनुहोला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला।”

हामीबीच कुराकानी सकिनासाथ मदन हिँड्ने तयारीमा लाग्नुभयो। म एकछिन त्यहीँ बसेँ र उहाँले भन्नुभएका कुराहरू मनमा गुनिरहेँ। एकछिनपछि मदन कमरेडलाई शुभ–यात्रा भन्दै म आफ्नो ज्ञानेश्वरको कोठातिर लागेँ। मदन भण्डारीले मलाई गराउनुभएको जानकारी र दिनुभएको त्यो निर्देशन नै मेरो लागि अन्तिम सावित भयो।

त्यो दिनभरि मदनसित भएका कुराहरूले नै मेरो दिमागमा चक्कर काटिरहे। मैले मदनले दिनुभएको कार्यक्रम र समय तालिकालाई दोहोर्‍याई–तेहेर्‍याई हेरिरहेँ। ती सबैलाई मैले मेरो दिमागमा राम्ररी ‘सेट’ गरेँ। त्यसबीचमा मैले कुनै नेतासित पनि मदनसित भएका कुराबारे जानकारी गराइनँ। म एकोहोरो मदन कमरेडलाई सम्झँदै कतैबाट फोन आइहाल्छ कि भनेर ध्यान दिइरहेको थिएँ।

२०५० साल जेठ ३ गते बेलुका साढे चार वा पाँच बजेको थियो होला। म बागबजार केन्द्रीय कार्यालयमै थिएँ। ‘अब एकछिनपछि घर जानुपर्ला’ भन्ने लाग्दै थियो। त्यसैबेला केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख लेखनाथ कोइरालाले अत्तालिँदै आएर एउटा सूचना दिनुभयो। उहाँको सूचनापछि म हतप्रभ भएँ। मदन र जीवराज आश्रित चढ्नुभएको गाडीका चालक अमर लामाले चितवनबाट फोन गरी ‘गाडी दुर्घटना भएर त्रिशूली नदीमा डुबेको, मदन र आश्रित दुवैजना बेपत्ता हुनुभएको र आफू भने बाँचेर नारायणगढ पुगी फोन गरेको’ जानकारी आएको रहेछ।

त्यो खबरले मलाई रिंगटा लागेजस्तो भयो। म एक किसिमले अत्तालिएको थिएँ। हतार–हतार जता–जता फोन लाग्यो, त्यतै फोन गर्न थालेँ। कार्यालय उपसचिव मनकुमार गौतमलाई पनि फोन गर्न लगाएँ। एकैछिनमा प्रदीप नेपाल, राधाकृष्ण मैनाली, सि।पी। मैनाली लगायतका नेताहरू कार्यालय पुग्नुभयो। कार्यकर्तासँगै आम मानिसहरूको पनि भीड लाग्न थाल्यो। निर्मल लामा, कांग्रेस नेत्री लीला कोइरालालगायत अन्य विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू पनि आउन थाले।

हामी पार्टी अफिसको कोठामा चिन्तित हुँदै समन्वय गर्ने कोसिस गरिरहेका थियौँ। ९त्यसबेलाको एउटा प्रसङ्ग म अहिले पनि बिर्सन सक्दिनँ– पार्टीका केही जिम्मेवार साथीहरू त्यस्तो बेला पनि अफिसमा आएका थिएनन् वा आएर पनि एकछिन यताउती गरेर घरमा सुत्न गएका थिए। यस्तो अशोभनीय र कृतघ्न व्यवहार देखेपछि राधाकृष्ण मैनालीले फोनबाटै त्यस्ता नेताहरूलाई हकार्नुभएको थियो।०

हामी रातभरि चिन्ताको पोखरीमा डुबेर अफिसमै बस्यौँ। काठमाडौँदेखि मुग्लिन र नारायणघाटसम्मको सडकभरि मदनको खोजीमा निस्केका मानिसहरूको भीड बढिरहेको थियो। सबैजना दुर्घटनास्थल दासढुङ्गा पुग्न हतारिएका थिए। मैले राति नै मेरो डेराबाट श्रीमती मीरालाई चिन्तामा पर्नुभएकी विद्याजीको रेखदेखका लागि जान निर्देशन दिइसकेको थिएँ।

हामीले रातभरि झिमिक्कै नगरी बितायौँ। सुरक्षा क्षेत्रका गोताखोर, क्रेन र नेताहरूको टोली दुर्घटनास्थलतर्फ गयो। वृद्ध अवस्थामा पुग्नुभएका पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वयं भोलिपल्ट दुर्घटनास्थल पुगेर त्रिशूली नदी किनारका बगर र बुट्यानहरूमा मदनको कुनै सङ्केत पाइन्छ कि भनेर खोज्दै हिँड्नुभयो। मदनको केही सङ्केत नपाएपछि उहाँ डाँको छोडेर रुनुभएको थियो– “म बुढो बाँचेकै छु, तिमी कहाँ गयौ नि मेरो कमरेड १” मनमोहनले मन थाम्न नसकेको त्यो दृश्यले सबैलाई रुवाएको थियो ।

मलाई भने मनभित्र कताकता मदन कतै घाइते अवस्थामा भए पनि जीवितै भेटिनुहुन्छ कि भन्ने लागिरहेको थियो। दुर्घटना भएको झण्डै ३९ घण्टापछि, जेठ ५ गते बिहान साढे आठ बजे, झण्डै ३२ किलोमिटर टाढा गुञ्जनगरको गाजीपुरमा नारायणी नदीको किनारमा मदनको शव भेटिएको खबर फैलियो।

तत्कालीन जिल्ला कमिटी सदस्य हरि सापकोटाले शवको सनाखत गर्नुभएको थियो। मदनको शव निकाल्दा उहाँको अनुहारमा गम्भीर चोटहरू लागेको अनौठो अवस्था देखिएको थियो। मदनले लामो बाहुला भएको सर्ट र दुवै खुट्टामा मोजा लगाएको तर छालाको बेल्टले कसिएको पाइन्ट भने नभएको ९गायब भएको० अवस्थामा शव भेटिएको थियो। बेल्टसहितको पाइन्ट गायब हुनु अत्यन्त अस्वाभाविक थियो।

शव भेटिएपछि मदन जीवितै भेटिनुहोला भन्ने आशा मेटियो। उहाँ हामीबाट भौतिक रूपमा सदाका लागि बिदा हुनुभयो। मदनको निधनमा एमाले पंक्ति शोकमा डुबेको थियो, तर त्यही पंक्ति शोकलाई शक्तिमा बदल्ने अठोटका साथ अघि बढ्न संकल्पबद्ध पनि थियो।

यसरी जननेता मदन भण्डारीसितको १४ वर्ष १० महिनाको सहयात्रा कहिल्यै नबिर्सने गरी स्मृतिमा सुरक्षित रहनेछ। मदन भण्डारीको मौलिक र गतिशील विचारको रक्षा गर्दै सिर्जनशील ढङ्गले अगाडि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आदरणीय नेताहरूप्रति हार्दिक श्रद्धासुमन

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६