अर्थ-वाणिज्य

संरक्षण, व्यवस्थापन र समुदाय समृद्धिको साझा आधार

लुम्बिनी साझेदारी वन



रुपन्देही ३ जेष्ठ
रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा अवस्थित लुम्बिनी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, जैविक विविधता संवद्र्धन तथा स्थानीय समुदायको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिएको छ। बनका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीका अनुसार वन व्यवस्थापन, संरचना विकास, उपभोक्ता सहभागिता र भावी सम्भावनाको स्पष्ट चित्र प्रस्तुत गरी साझेदारी वनलाई अगाडी बढाइएको भनाइ रहेको छ ।१३३०.१० हेक्टर क्षेत्रफलमा फैलिएको यो साझेदारी वन लुम्बिनी प्रदेशकै महत्वपूर्ण वन क्षेत्र मध्ये एक हो। 

यस मध्ये २०२.९४ हेक्टर चुरे क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा राखिएको छ भने ११०४.१६ हेक्टर क्षेत्रमा वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापन भइरहेको छ। वन क्षेत्र पूर्व–पश्चिम करिब १.५ देखि २.५ किलोमिटर चौडाइ र उत्तर–दक्षिण ८.६ किलोमिटर लम्बाइमा फैलिएको छ। प्राकृतिक रूपमा उर्वर र पुनरुत्पादनका लागि उपयुक्त माटो तथा उष्ण–उपोष्ण हावापानीले वन विकासका लागि अनुकूल वातावरण प्रदान गरेको छ।

वनको उपभोक्ता क्षेत्र पनि निकै विस्तृत रहेको छ। कञ्चन, सैनामैना, कोटहीमाई, मायादेवी, गैडहवा तथा लुम्बिनी सांस्कृतिक नगरपालिका गरी ६ वटा स्थानीय तहका २९ वडाका ३६ हजार ५ सय ९० घरधुरी तथा २ लाख १ हजार ८ सय १३ जनसंख्या प्रत्यक्ष रूपमा यससँग जोडिएका छन्। यति ठूलो जनसमुदायलाई समेट्नु आफैँमा वन व्यवस्थापनको चुनौती र अवसर दुवै हो।

साझेदारी वनको विशेषता भनेको वन संरक्षणसँगै समुदायलाई प्रत्यक्ष लाभ दिने अवधारणा हो। प्रारम्भिक चरणदेखि नै अन्य सामुदायिक वनसँग सहकार्य र नजिकका उपभोक्तालाई समावेश गर्ने नीति अपनाइएकाले वनहरूबीच समन्वय र सम्बन्ध विस्तारमा समेत सहयोग गदै आएको अध्यक्ष चौधरीको भनाई छ । यसले वन व्यवस्थापनलाई केवल संरक्षणको दायरामा सीमित नराखी सामाजिक सहकार्यको माध्यम समेत बनाएको छ।
न व्यवस्थापनमा कानुनी तथा नीतिगत परिवर्तनका कारण केही वर्ष पुनरुत्पादन कटान र वृक्षा रोपण प्रभावित भए पनि अहिले नयाँ कानुनी व्यवस्था अनुसार व्यवस्थापन प्रक्रिया अघि बढिरहेको अध्यक्ष चौधरीको भनाइ छ। वन ऐन २०७६, वन नियमावली २०७९ तथा लुम्बिनी प्रदेश सरकारको वन संवद्र्धन प्रणालीमा आधारित मापदण्ड अनुसार कार्य सञ्चालन हुनु सकारात्मक पक्ष मानिएको छ।
भौतिक पूर्वाधारतर्फ समूहले दुईतले कार्यालय भवन, पाले घर, संरक्षण पोखरी, सवारी साधन, खानेपानी, जेनरेटर लगायतका संरचना निर्माण गरी संस्थागत क्षमता विस्तार गरेको छ। यस्ता संरचनाले वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहमा सहजता ल्याएको छ।
वन संरक्षण आज केवल रूख जोगाउने विषय मात्र नभइ यो वातावरणीय सन्तुलन, रोजगारी सिर्जना, प्राकृतिक स्रोतको दिगो उपयोग र भावी पुस्ताको सुरक्षासँग जोडिएको विषय हो। लुम्बिनी साझेदारी वनले समुदायको सहभागिताबाट वनलाई संरक्षणसँगै समृद्धिको आधार बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ। वनलाई स्रोत मात्र नभई साझा सम्पत्ति र भविष्यको आधारका रूपमा हेर्ने सोच विकास गर्न सके यस्ता साझेदारी मोडलहरू देशभर प्रभावकारी उदाहरण बन्न सक्ने अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको तर्क रहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६