कपिलवस्तु, बाणगंगा १२ जेठ
स्थानीय सरकारको प्रभावकारिता सेवा प्रवाह, सुशासन, विकासको गति र नागरिकको जीवनस्तरमा देखिने परिवर्तनबाट मापन गरिन्छ। यही मापदण्डलाई व्यवहारमा उतार्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाले पछिल्लो समय आफूलाई एक सक्षम, व्यवस्थित र नमुना स्थानीय तहका रूपमा स्थापित गरेको तथ्यहरुले पुष्टी गरेको छ ।
गत आर्थिक वर्षमा सम्पन्न गरिएका कामहरूको समग्र समीक्षा गर्दा बाणगंगा प्रशासनिक आधुनिकीकरण, प्रविधि प्रयोग, पारदर्शिता, सामाजिक उत्तरदायित्व र दीर्घकालीन विकास योजनाको दृष्टिले उल्लेखनीय उपलब्धि हासिल गर्ने नगरका रूपमा देखिएको छ।
नगरपालिकाले परम्परागत कार्यशैलीलाई प्रतिस्थापन गर्दै डिजिटल शासनलाई प्राथमिकतामा राखेको छ। सबै वडामा डिजिटल नागरिक वडापत्र सञ्चालन गरिएको छ भने सबै प्रकारका कर तथा शुल्क सफ्टवेयरमार्फत संकलन हुने व्यवस्था गरिएको छ। नगर, वडा, स्वास्थ्य संस्था, अस्पताल तथा ४७ वटै सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली जडान गरिएको छ। यसले कर्मचारी अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ।
सूचनाको हकलाई संस्थागत गर्दै माग भएका सूचनाहरू समयमै उपलब्ध गराउने र सार्वजनिक गर्नुपर्ने विवरण त्रैमासिक रूपमा प्रकाशित गर्ने कार्यले पारदर्शिता र नागरिकमैत्री प्रशासनको अभ्यासलाई बलियो बनाएको छ। सामाजिक सुरक्षा परिचयपत्र तथा अपाङ्गता परिचयपत्रलाई कम्प्युटर प्रणाली मार्फत अभिलेख गर्ने अभ्यासले अभिलेख व्यवस्थापनलाई आधुनिक बनाएको देखिन्छ।
नगरपालिकाले सबै खरिद प्रक्रिया ई–बिडिङमार्फत र भुक्तानी ईएफटी प्रणाली मार्फत गर्ने नीति लिएको छ। यसले आर्थिक कारोबारलाई पारदर्शी बनाएको छ। नियमित स्टाफ बैठक मार्फत शाखागत प्रगति, समस्या र चुनौतीको समीक्षा गरिनु व्यवस्थापन सुधारको अर्को महत्वपूर्ण पक्ष बनेको छ।
यी अभ्यासहरूको प्रतिफल पनि नगरपालिकाले प्राप्त गरेको छ। स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनमा बाणगंगाले ९४.७५ प्रतिशत अंक प्राप्त गरेको छ भने वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९३ अंक हासिल गरेको प्रारम्भिक नतिजाले नगरपालिकाको कार्यसम्पादन क्षमता उच्च रहेको पुष्टि गरेको छ।
नगरले सामाजिक समस्यालाई समेत व्यवस्थापनको केन्द्रमा राखेको देखिन्छ। लामो समयदेखि कृषकलाई समस्या बनिरहेको छाडा चौपाया व्यवस्थापनका लागि गौशालाको स्तरोन्नति र अन्तर नगर साझेदारी अवधारणा अन्तर्गत कपिलवस्तु तथा सिद्धार्थनगर नगरपालिकासँग सहकार्य गरिएको छ। यसले स्थानीय समस्या समाधानमा साझा जिम्मेवारीको नयाँ अभ्यास अघि सारेको नगर प्रमुख चक्रपाणी अर्यालको भनाई छ।
नगर प्रहरी थप गरी नदीजन्य पदार्थको चोरी नियन्त्रण र छाडा पशु व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ। सहकारी र खानेपानी संस्थाको अनुगमन गरी प्रतिवेदन तयार गरिनु, अख्तियारका सुझाव कार्यान्वयनमा लैजानु र जे.सी. अडिट सम्पन्न गर्नु सुशासनप्रतिको प्रतिबद्धताका उदाहरण बनेका छन्।
विकास पूर्वाधारतर्फ पनि बाणगंगा सक्रिय देखिएको छ। नगरको मुख्य प्रशासनिक भवन मर्मत तथा हल निर्माण, नगर एटलस निर्माण, भू–उपयोग योजना कार्यान्वयन, पर्यटन गुरुयोजना निर्माण तथा शिक्षा योजना स्वीकृति सहित कार्यान्वयन प्रक्रियाले दीर्घकालीन विकासको आधार निर्माण गरेको छ।
नगरको विशेष उपलब्धि मध्ये दुधमा आत्मनिर्भर नगर घोषणा हुनु अर्को महत्वपूर्ण उपलब्धि हो। कृषि क्षेत्र र सहकारीको प्रोत्साहनमा उत्कृष्ट कार्य गर्ने संस्थालाई पुरस्कृत गरिनु स्थानीय उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने संकेत भएको बताउनुहुन्छ कृषि शाखा प्रमुख लेस बहादुर केसी ।
सामाजिक क्षेत्रमा पनि बाणगंगाले उल्लेखनीय प्रगति गरेको छ। वडा नम्बर २ पूर्ण सरसफाइ युक्त तथा पूर्ण पोषणमैत्री वडा घोषणा भएको छ भने यसअघि वडा नम्बर ५ र ८ समेत घोषणा भइसकेका छन्। अन्य वडाहरू पनि घोषणा उन्मुख छन्। नगरका ९९.९९ प्रतिशत घरधुरी आधारभूत खानेपानी सेवाबाट लाभान्वित छन्। सुरक्षित खानेपानी विस्तारका लागि पाँच स्थानमा ओभरहेड ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ।
नगरका ९८.४२ प्रतिशत घरधुरीमा शौचालयको प्रयोग हुनु जनस्वास्थ्य र सरसफाइ प्रतिको चेतनाको सकारात्मक संकेत हो। विपन्न घरधुरीलाई धारा जडान र शौचालय निर्माणमा अनुदान उपलब्ध गराउँदै सामाजिक समावेशितालाई प्राथमिकता दिइएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको भनाइ रहेको छ।
खेलकुद, संस्कृति र पहिचान निर्माणमा समेत नगरपालिका सक्रिय बनेको छ। मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता नियमित गरिएको छ। नगरको लोगो प्रयोगमा ल्याइएको छ भने नगरगान छनोटको तयारी भइरहेको छ।
मालपोत र नापी कार्यालय नगरभित्र सञ्चालनमा ल्याउन सफल हुनु बाणगंगाका नागरिकका लागि अर्को महत्वपूर्ण उपलब्धि हो। यसबाट नागरिकले सेवाका लागि बाहिर धाउनुपर्ने बाध्यता घटेको बताउनुहुन्छ नगर उपप्रमुख रिता कुमारी चौधरी ।
बाणगंगा नगरपालिका योजना कार्यान्वयन गर्ने स्थानीय तहमा सीमित नभई यसले डिजिटल शासन, सुशासन, सामाजिक उत्तरदायित्व, पूर्वाधार विकास र नागरिक केन्द्रित सेवाको समन्वय मार्फत विकासको नयाँ मोडेल निर्माण गर्ने प्रयास गरिरहेको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क छ । अर्यालले स्थानीय तहको सफलता बजेट खर्चमा मात्र नभई नागरिकको जीवनमा देखिएको परिवर्तनमा मापन हुने धारणा राख्नु भयो ।









प्रतिक्रिया