कोशी

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन



धरान (सुनसरी), १९ जेठः कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताबाट राष्ट्रियस्तरका लागि छनोट भएका ११५ खेलाडी तथा अफिसियललाई आज साँझ बिदाइ गरी काठमाडौँ पठाइएको छ । बिदाइ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलाडीलाई अनुशासन, मेहनत र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही जेठ २० गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सातै प्रदेशका कुल ६८६ खेलाडीको सहभागिता रहने (राखेप)ले जनाएको छ ।प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएका छन् । ती खेलमा कुल ६६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।राखेपका सदस्य सचिवका रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुने छन् ।

प्रकाशित : १९ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६