अर्थ-वाणिज्य

एक अर्बभन्दा बढीको कारोबार, ५० भन्दा बढीलाई रोजगारी

आर्थिक रूपान्तरणमा सिनर्जी सहकारीको बलियो उपस्थिति



रामु पौडेल

कपिलवस्तु ३ असार

सहकारी अभियानमा उत्पादन, रोजगारी, उद्यमशीलता र सामुदायिक विकासको प्रभावकारी माध्यम बन्न सक्छ भन्ने उदाहरण बनेको छ सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड। एक अर्ब रुपैयाँभन्दा बढीको ब्यालेन्ससिट, करिब ५० जनालाई प्रत्यक्ष रोजगारी, कृषकका उत्पादनको सुनिश्चित बजार तथा समुदायमुखी कार्यक्रम मार्फत संस्थाले लुम्बिनी प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा मात्र कृषि तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै ३० करोड रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सार्वजनिक गरेको छ। कर्जा लगानीलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्दै कृषक, साना उद्यमी तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने रणनीतिले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
सहकारीले हालसम्म कृषि उत्पादन, सहकारी बजार, कोशेली घर, प्राङ्गारिक मल उद्योग तथा कृषकका धान, गहुँ, तोरी लगायतका उत्पादन खरिद गरी बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसबाट कृषकले उचित मूल्य पाउनुका साथै उत्पादनप्रति उत्साह बढेको बजार अधिकृत केशव खनालले बताउनु भयो ।
संस्थाले डिजिटल बैंकिङ सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी तथा डिजिटल अभिलेख व्यवस्थापनलाई विस्तार गर्दै सदस्यमैत्री सेवा प्रवाहलाई थप सहज बनाउने योजना रहेको छ। सहकारी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा सदस्यको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको ऋण प्रमुख ईश्वरराज न्यौपानेको भनाइ छ।
सहकारीले आर्थिक कारोबारमा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ। सदस्य राहत कोष, दुर्घटना सहायता, कर्जा बीमा, घातक रोग लागेका सदस्यलाई सहयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा राहत कार्यक्रम, रक्तदान, वृक्षारोपण तथा सिनर्जी पार्क निर्माणज स्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारिरहेका छन्।
संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सहकारीको लक्ष्य सदस्यको जीवनस्तर उकास्ने रहेको बताउँदै भने, “सिनर्जी सहकारीलाई बचत–कर्जाको संस्थामा मात्र सीमित नराखी उत्पादन, बजार व्यवस्थापन, उद्यमशीलता विकास र सामाजिक उत्तरदायित्व वहन गर्ने नमुना सहकारीका रूपमा विकास गरिरहेका छौं। कृषक र उद्यमीलाई केन्द्रमा राखेर अघि बढेका कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास छ।”
उपाध्यक्ष कूलराज पौडेलका अनुसार सहकारीको आगामी रणनीति उत्पादन र बजारलाई जोड्ने रहेको छ। उनले भने, “कृषकले उत्पादन गर्ने र बजार नपाउने अवस्था अन्त्य गर्न सहकारी बजार, कृषि उपज खरिद तथा मूल्य शृङ्खला विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौं। यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ।”
संस्थाका सचिव शंकर पाण्डेले सहकारीको विस्तारसँगै सुशासन र पारदर्शितालाई थप मजबुत बनाइने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको वित्तीय प्रतिवेदन प्रणाली तथा डिजिटल व्यवस्थापनले सदस्यको विश्वास अझै बढाउनेछ।
व्यवस्थापक दिनामणी खनालले संस्थाले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिए। “सिनर्जी मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, अभिलेख व्यवस्थापन तथा सदस्य शिक्षा कार्यक्रममार्फत सदस्यलाई आधुनिक सेवासँग जोडिरहेका छौं। आगामी वर्ष थप एक हजार सदस्यलाई डिजिटल सेवाको पहुँचमा ल्याउने लक्ष्य छ,” उनले भने।
सिनर्जी सहकारीले विगतमा तीन पटक सम्म कपिलवस्तु जिल्लामै सर्वाधिक कर भुक्तान गर्ने संस्थाको पहिचान बनाएको छ। यसले सहकारी सदस्यको संस्था मात्र नभई राज्यको आर्थिक विकासमा समेत योगदान गर्ने जिम्मेवार संस्था भएको पुष्टि गरेको छ।


सहकारीले नयाँ सदस्य शिक्षा, अगुवा किसान कार्यक्रम, सीप विकास तालिम, महिला उद्यमशीलता प्रवद्र्धन, सामूहिक जमानीमा कर्जा, सहकारी एकीकरण तथा सेवा केन्द्र विस्तार जस्ता योजनालाई पनि प्राथमिकतामा राखेको छ। रुपन्देही, दाङ र अर्घाखाँचीमा सम्भाव्यता अध्ययन गरी सेवा विस्तार गर्ने तयारीले संस्थाको प्रभाव क्षेत्र अझ फराकिलो हुने संकेत गरेको छ।
सहकारीको मूल मर्म ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै सिनर्जीले आर्थिक समृद्धि, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासलाई एकसाथ अघि बढाइरहेको देखिन्छ। उत्पादन, रोजगारी, उद्यमशीलता र सामाजिक सेवाको संयोजनमार्फत सहकारीले स्थानीय विकासको प्रभावकारी मोडेल प्रस्तुत गरेको छ, जुन आगामी दिनमा अन्य सहकारी संस्थाका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ।

प्रकाशित : २ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६