अर्थ-वाणिज्य

जंगलबाट जनजीवन सम्म

नव प्रभात वनले कोर्दै समृद्ध समुदायको नयाँ कथा



रामु पौडेल

कपिलवस्तु, बाणगंगा, ३ असार

कुनै समय घाँस, दाउरा र काठको स्रोतका रूपमा मात्र बुझिने सामुदायिक वन आज ग्रामीण विकासको भरोसायोग्य साझेदार बन्दै गएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूह यसको जीवन्त उदाहरण बनेको छ, जहाँ वनले हरियाली मात्र होइन, सयौं परिवारको जीवनस्तर उकास्ने आधार निर्माण गरेको छ।
३७७.६३ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनले पछिल्ला वर्षहरूमा संरक्षण र उत्पादनसँगै सामाजिक तथा आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। वनबाट प्राप्त आम्दानीलाई वन व्यवस्थापनमा सीमित नराखी शिक्षा, पूर्वाधार, कृषि, स्वास्थ्य, विपन्न वर्ग उत्थान तथा सामाजिक विकासमा लगानी गरिएको छ।
सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मी भन्छन्, “वन भनेको रुखको मात्र संरक्षण होइन, समुदायको भविष्य सुरक्षित गर्ने अभियान हो। वनबाट प्राप्त स्रोत साधन समुदायकै हितमा परिचालन गर्न सके वनले गरिबी न्यूनीकरणदेखि सामाजिक रूपान्तरणसम्म ठूलो भूमिका खेल्न सक्छ।”
वनले विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा अवसरबाट वञ्चित समुदायलाई प्राथमिकतामा राखेर विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय कृषकको खेतीबाली जंगली जनावरबाट जोगाउन तारबार निर्माण गरिएको छ भने सिंचाइ कुलो निर्माणले कृषि उत्पादन बढाउन महत्वपूर्ण सहयोग पु¥याएको छ। यसबाट साना किसानको उत्पादन लागत घट्नुका साथै आम्दानीमा समेत सकारात्मक प्रभाव परेको स्थानीयहरू बताउँछन्।
वनले सञ्चालन गरेका सीपमूलक तालिम, क्षमता विकास कार्यक्रम तथा सामुदायिक सहभागिताका गतिविधिले धेरै परिवारलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ। विशेष गरी ग्रामीण क्षेत्रमा रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न वनले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ।
नव प्रभात सामुदायिक वनको अर्को उल्लेखनीय पक्ष भनेको शिक्षा क्षेत्रमा गरेको लगानी हो। बाणगंगा बहुमुखी क्याम्पस, बाणगंगा माध्यमिक विद्यालय, मदरसा विद्यालय तथा बाल विकास केन्द्रहरूमा अक्षयकोष स्थापना तथा शैक्षिक सहयोग मार्फत वनले भावी पुस्ताको भविष्य निर्माणमा योगदान पु¥याएको छ। यसले वनको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।
स्थानीय मठमन्दिर, सार्वजनिक संरचना, खेलमैदान तथा सामुदायिक पूर्वाधार निर्माणमा समेत वनले निरन्तर सहयोग गर्दै आएको छ। यसबाट वन र समुदायबीचको सम्बन्ध उपभोक्ता र स्रोतको सम्बन्धमा सीमित नरही विकास साझेदारीको रूपमा स्थापित भएको छ।
वन परिसरमा निर्माण गरिएको व्यायामशालाले स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मलाई स्वास्थ्यप्रति सचेत बनाएको छ। दैनिक सयौं व्यक्तिले प्रयोग गर्ने उक्त संरचनाले वनलाई समुदायको साझा केन्द्रका रूपमा विकास गरेको छ।
वन व्यवस्थापनमा अपनाइएको ८० वर्षे वनबाली चक्र प्रणालीले वन संरक्षणलाई दीर्घकालीन दृष्टिकोणसँग जोडेको छ। यसले वन स्रोतको दिगो उपयोग, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याइरहेको छ। संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्ने यस अभ्यासलाई सामुदायिक वन व्यवस्थापनको सफल नमुनाका रूपमा हेरिएको छ।
अध्यक्ष रेग्मीका अनुसार वनबाट प्राप्त लाभ सबै उपभोक्तासम्म न्यायोचित रूपमा पुग्ने वातावरण निर्माण गर्न समूह प्रतिबद्ध छ। “हाम्रो लक्ष्य वन धनी बनाउने मात्र होइन, वनसँग जोडिएका नागरिकलाई पनि समृद्ध बनाउने हो,” उहाँले भन्नुभयो।
आज नव प्रभात सामुदायिक वन हरियालीको मात्र पहरेदार बनेको छैन, यसले शिक्षा, कृषि, सामाजिक विकास, स्वास्थ्य, पूर्वाधार निर्माण र गरिबी न्यूनीकरणको साझा अभियानलाई समेत अगाडि बढाइरहेको छ। वनको यही अभ्यासले एउटा स्पष्ट सन्देश दिएको छ— जब वनको लाभ समुदायसम्म पुग्छ, तब वन संरक्षण मात्र होइन, समृद्ध समाज निर्माणको ढोका पनि खुल्ने अध्यक्ष डिल्ली रेग्मीको तर्क रहेको छ ।

प्रकाशित : २ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६