अर्थ-वाणिज्य

बाणगङगामा २ अर्ब ३३ लाखको बजेट विनियोजन



कपिलवस्तु, १० असार । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ३३ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। सार्वजनिक गरिएको बजेट तथा कार्यक्रमअनुसार नगरपालिकाले सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाका अनुसार प्रस्तुत बजेटले उत्पादन, मानव विकास र सामाजिक सुरक्षालाई सन्तुलित रूपमा सम्बोधन गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर बाणगंगा निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको मेयर चक्रपाणि
नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा पशुसेवा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। कृषि विकास कार्यक्रमका लागि २ करोड ४२ लाख ७५ हजार रुपैयाँ तथा पशुसेवा कार्यक्रमका लागि १ करोड १४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ। पशु विकास प्रवर्द्धन कोष तथा दूध अनुदानका लागि ३० लाख रुपैयाँ, अधुरो कोल्ड स्टोर निर्माण सम्पन्न गर्न २५ लाख रुपैयाँ, साना सिँचाइ मर्मत तथा निर्माणका लागि २५ लाख रुपैयाँ तथा प्राङ्गारिक मल उद्योग स्तरोन्नतिका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। उन्नत बीउ वितरण, कृषि यान्त्रीकरण र पशु स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमलाई समेत समेटिएको छ।
शिक्षा तथा खेलकुद क्षेत्रका लागि ४३ करोड ६८ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत शिक्षक तथा कर्मचारीको तलबभत्ता, विद्यार्थी दिवा खाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक वितरण, छात्राका लागि स्यानिटरी प्याड व्यवस्थापन तथा विद्यालय सुधार कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकाले ‘हाम्रो बाणगंगा’ स्थानीय पाठ्यक्रम विकास, विद्यालय पूर्वाधार मर्मत, फर्निचर व्यवस्थापन तथा विपन्न र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। खेलकुदतर्फ राष्ट्रपति रनिङ शिल्ड, मेयरकप क्रिकेट र उपप्रमुख भलिबल प्रतियोगिताका लागि बजेट विनियोजन गरिएको छ।
स्वास्थ्य तथा आयुर्वेद सेवाका लागि १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। मातृ तथा नवशिशु स्वास्थ्य, पूर्ण खोप सुनिश्चितता, आधारभूत औषधि खरिद तथा स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षाघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले औषधि उपचार सहयोग उपलब्ध गराउन १ करोड ७४ लाख रुपैयाँभन्दा बढी बजेट व्यवस्था गरिएको छ।
रोजगारी तथा लघु उद्यम विकासका लागि ९७ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ। उपप्रमुख सीप विकास तालिम, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको पुनःएकीकरण, नयाँ लघु उद्यमी सिर्जना तथा तान–ढाका मेसिन खरिदमा अनुदानका कार्यक्रम सञ्चालन गरिने भएका छन्।
सामाजिक समावेशीकरणअन्तर्गत महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समुदायका कार्यक्रमका लागि ५२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसा विरुद्धका अभियान, दलित प्रोफाइल निर्माण, सहायक सामग्री वितरण तथा सीप विकास कार्यक्रमलाई बजेटले समेटेको छ।
त्यसैगरी, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। भूमि व्यवस्थापन कार्यक्रमका लागि ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच, अभिलेखीकरण तथा लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिन १३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा वास्तविक भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।
सामाजिक सुरक्षातर्फ सबैभन्दा ठूलो रकम ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ। जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि उक्त रकम छुट्याइएको हो।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना, भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापन र सामाजिक सुरक्षालाई सन्तुलित रूपमा सम्बोधन गरेको जनाएको छ। नगर नेतृत्वले यस बजेटमार्फत नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : १० असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६