देश

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २२ असार

मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । “उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ । सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ । त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ । “मनसुनी हावाको प्रभाव देशैभर छ । तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ । धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भन्नुभयो । विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रकाशित : २२ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६