तिलोत्तमा, २२ असार
राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेशका पूर्वप्रमुख एवं वरिष्ठ समाचारदाता भरत केसीलाई परमानन्द स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । परमानन्द स्मृति दिवस तथा १६औँ साधारणसभाका अवसरमा वरिष्ठ समाचारदाता केसीलाई रु १० हजार नगद पुरस्कार एवं दोसल्लासहित सम्मान गरिएको हो । रासस लुम्बिनी प्रदेश प्रमुख केसी हाल राससको केन्द्रीय कार्यालयमा उपनिर्देशकको भूमिकामा हुनुहन्छ । परमानन्द स्मृति प्रतिष्ठानले हरेक वर्ष शैक्षिक, औद्योगिक तथा समाजसेवाका क्षेत्रमा विशेष योगदान पु¥याउने चार व्यक्ति एवं संस्था हरेकलाई रु १० हजार राशीको पुरस्कारसहित सम्मान गर्दै आएकामा यस वर्ष शैक्षिक क्षेत्रतर्फ बुटवल उपमहानगरपालिका–६ स्थित साधना महिला विद्यालय पनि पुरस्कृत भएको छ । यसैगरी, समाजसेवी एवं शैक्षिक व्यक्तित्व विमलबहादुर शाक्य र शुद्धोधन गाउँपालिकामा सञ्चालित ‘फस्ट चोइस उद्योग’ का सञ्चालक कृष्णप्रसाद पौडेल आज पुरस्कृत हुनुभयो । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उद्योग व्यवसाय क्षेत्रमा स्थापित व्यक्तित्व खरेलको स्मृतिमा उहाँकी धर्मपत्नी रेणुका खरेलले परमान्द प्रतिष्ठान खडा गरी बर्सेनि चार व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्दै आउनुभएको छ । परमानन्द स्मृति दिवसका अवसरमा आज यहाँ आयोजत कार्यक्रममा प्रतिष्ठानकी संरक्षक एवं खरेलकी धर्मपत्नी रेणुकाले प्रतिष्ठानलाई रु पाँच लाख हस्तान्तरण गर्नुभयो । —









प्रतिक्रिया