कपिलवस्तु, साउन २७
बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ८१ प्रतिशत कार्य प्रगति गरेको तथ्यांक सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको कार्यालय, बाणगङ्गामा आयोजित एक कार्यक्रममा आर्थिक वर्षभरि विकास निर्माण, सेवा प्रवाह, सुशासन तथा प्रशासनिक कार्यसम्पादनमा योगदान पु¥याउने जनप्रतिनिधि र कर्मचारीबीच आपसी सम्मान, धन्यवाद तथा आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा आर्थिक वर्षभरि निर्धारित योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएको समन्वय, जिम्मेवारी बोध र सामूहिक प्रयासकै परिणामस्वरूप नगरपालिका ८१ प्रतिशत प्रगति हासिल गर्न सफल भएको उल्लेख गरिएको थियो। सहभागीहरूले विकासका लक्ष्य हासिल गर्न जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आगामी आर्थिक वर्षमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरपालिकाले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आगामी वर्षमा गुणस्तरीय सेवा, पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमले संस्थागत सफलताको आधार, व्यक्तिगत योगदान भन्दा पनि सामूहिक जिम्मेवारी, आपसी विश्वास र सहकार्य भएको सन्देश दिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको भनाइ थियो। उनीहरूले प्राप्त उपलब्धिलाई आत्मसन्तुष्टिको विषय नबनाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।
कुनै पनि सार्वजनिक संस्थाको सफलता बजेट खर्च वा योजनाको कार्यान्वयनमा मात्र सीमित हुँदैन। जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको समन्वय, उत्तरदायित्व र सेवाप्रतिको प्रतिबद्धताले मात्र सुशासन र दिगो विकास सम्भव हुने नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ । नगर प्रमुख अर्यालले प्राप्त उपलब्धिको सम्मान गर्दै आगामी लक्ष्यप्रति अझ जिम्मेवार बन्नु नै आफुहरुको सेवाको वास्तविक सफलता हुने बताउनु भयो ।










प्रतिक्रिया