कपिलवस्तु २८ असार
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मधुबन सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै लक्षित वर्गका नागरिकलाई आर्थिक सहयोग वितरण, उपभोक्ताहरूलाई बाद्यवादनका सामाग्री हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवामा सेवारत वन अधिकृत मदन ढुंगानाको अनिवार्य अवकाशका अवसरमा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको सामुदायिक बनका अध्यक्ष दिपक कुमार सापकोटाले बताउनु भयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विपन्न तथा लक्षित वर्गका उपभोक्तालाई आर्थिक सहयोग प्रदान गरेको हो। त्यसैगरी स्थानीय कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले उपभोक्ताहरूलाई बाद्यवादनका सामग्री पनि वितरण गरिएको समूहले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख अर्यालले सामुदायिक वनहरू वन संरक्षणमा मात्र सीमित नभई सामाजिक विकास, सांस्कृतिक संरक्षण र समुदायको आर्थिक सशक्तीकरणमा समेत प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। उनले वन उपभोक्ता समूहहरूले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्थानीय संस्कृति जोगाउने अभियानमा सबैको साझा सहभागिता आवश्यक रहेको बताए।
सो अवसरमा डिभिजन वन कार्यालय तौलिहवामा लामो समयसम्म कार्यरत रही वन संरक्षण, सामुदायिक वन व्यवस्थापन तथा उपभोक्ता समूहको क्षमता अभिवृद्धिमा योगदान पु¥याएका मदन ढुंगानालाई सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मानपूर्वक बिदाइ गरिएको थियो। वक्ताहरूले ढुंगानाले सेवाकालमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनको सक्रियता र समर्पण सामुदायिक वन अभियानका लागि प्रेरणादायी रहेको बताए।मधुबन सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको आम्दानीलाई वन संरक्षणसँगै सामाजिक सुरक्षा, सांस्कृतिक संरक्षण तथा समुदायको हितमा परिचालन गर्दै आएको जनाएको छ। आर्थिक सहयोग, सांस्कृतिक सामग्री वितरण र योगदानको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले सामुदायिक वनको बहुआयामिक भूमिकालाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ थियो।
स्थानीय तह, सामुदायिक वन र उपभोक्ताबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने यस्ता कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र समुदायमा सेवाको सम्मान गर्ने संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।










प्रतिक्रिया