ब्रेकिंग न्युज

पूर्वाधार विकासमा अग्रसर व्यास



दमौली (तनहुँ), २९ असार

व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ । दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ । नगरप्रमुख न्यौपानेले दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्यालाई समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने बताउनुभयो । नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ । सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ । कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने भएको छ । प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ । विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । नगरप्रमुख न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने रु १० लाखभन्दा कम लागतका योजनामा तीन प्रतिशतमात्रै ‘कन्टिन्जेन्सी’ कट्टा गरिने जानकारी दिनुभयो । “यसले स्थानीयस्तरमा साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ । नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गरिने नीति अघि सारिएको छ । नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी र बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’ नामकरण गरी सङ्घीय सरकारअन्तर्गत निर्माण तथा विस्तारका कामलाई पूर्णता दिन पहल गरिने उहाँले जानकारी दिनुभयो । –––

प्रकाशित : २९ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६