ब्रेकिंग न्युज

बाणगङ्गाका थप दुई वडा पूर्ण पोषणमैत्री घोषित, पाँच वडामा विस्तार भयो पोषण अभियान



कपिलवस्तु, असार ३१

बाणगङ्गा नगरपालिकाले स्वास्थ्य, पोषण र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै थप दुई वटा वडा—वडा नं. ४ र वडा नं. ९—लाई पूर्ण पोषणमैत्री वडा घोषणा गरेको छ। तोकिएका सबै राष्ट्रिय तथा स्थानीय सूचकहरू सफलतापूर्वक पूरा गरेपछि आयोजित विशेष समारोहमा यी दुई वडालाई औपचारिक रूपमा पूर्ण पोषणमैत्री वडा घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्ण पोषणमैत्री घोषणाको प्रमाणपत्र बाणगङ्गा नगरपालिकाका नगर प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले वडा नं. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर र वडा नं. ९ का वडा अध्यक्ष कमलप्रसाद पौडेललाई प्रमाण पत्र प्रदान गर्नुभयो। नगर प्रमुख अर्यालले पोषणमैत्री घोषणाका लागि आवश्यक सूचकहरू पूरा गर्न योगदान पु¥याउने सम्बन्धित शाखा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायलाई बधाई तथा धन्यवाद व्यक्त गर्नु भयो ।


यसअघि बाणगङ्गा नगरपालिका वडा नं. २, ५ र ८ पूर्ण पोषणमैत्री वडा घोषणा भई दिगोपना तथा निरन्तरताको प्रमाणपत्र प्राप्त गरिसकेका छन्। पछिल्ला दुई वडा समेत थपिएसँगै नगरपालिकामा पूर्ण पोषणमैत्री वडाको संख्या पाँच पुगेको छ। यसले नगरपालिकाले स्वास्थ्य र पोषण सुधारलाई अभियानका रूपमा अघि बढाइरहेको स्पष्ट पुष्टी गरेको नगर उपप्रमुख रिता कुमारी चौधरीले बताउनु भयो ।


पूर्ण पोषणमैत्री वडा घोषणा कुनै औपचारिक उपलब्धी नभई गर्भवती तथा सुत्केरी महिलाको पोषण, शिशु तथा बालबालिकाको उचित हेरचाह, स्तनपान प्रवद्र्धन, नियमित स्वास्थ्य सेवा, खोप, सरसफाइ, सुरक्षित खानेपानी, पोषणसम्बन्धी जनचेतना र समुदायको सक्रिय सहभागिताजस्ता सूचकहरूको प्रभावकारी कार्यान्वयनको परिणाम भएको स्वास्थ्य क्षेत्रका जानकारको भनाइ रहेको छ । यी सूचकहरूको प्रभावकारी कार्यान्वयनले कुपोषण न्यूनीकरण, बाल तथा मातृ स्वास्थ्य सुधार र समग्र मानव विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताउनु भयो ।


स्थानीय सरकारको नेतृत्व, स्वास्थ्य संस्थाको सक्रियता, विभिन्न शाखाहरूको समन्वय तथा समुदायको सहभागिताले पोषणमैत्री अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। पछिल्ला वर्षहरूमा बाणगङ्गा नगरपालिकाले स्वास्थ्य, शिक्षा, सरसफाइ र सामाजिक विकासका सूचकहरू सुधार गर्ने अभियानलाई निरन्तर प्राथमिकता दिँदै आएको छ, जसको प्रतिफलका रूपमा पोषणमैत्री वडाको संख्या निरन्तर बढ्दै गएको वडा नं. ४ का वडा अध्यक्ष छविलाल रेश्मीमगरले बताउनु भयो ।
स्वस्थ, सक्षम र उत्पादनशील नागरिक निर्माणका लागि पोषणमा गरिएको लगानी दीर्घकालीन सामाजिक तथा आर्थिक विकासको आधारको रुपमा लिनुपर्ने वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलको तर्क रहेको रहेको छ । यही सन्दर्भमा बाणगङ्गा नगरपालिकाले सबै वडालाई क्रमशः पूर्ण पोषणमैत्री घोषणा गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको जनाएको छ। पाँच वडाले प्राप्त गरेको यो उपलब्धिले अन्य वडाहरूलाई पनि आवश्यक सूचक पूरा गर्दै पोषणमैत्री बन्न थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठग प्रसाद पौडेलको भनाइ रहेको छ । कार्यक्रममा महत्वपूर्ण सरोकारवालाको आतिथ्यता रहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित : ३१ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६