मान्म (कालीकोट), ३२ असार
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालित ‘कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम’मार्फत कालीकोटका किसानलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत तीन जना किसानलाई सम्मान गरेको हो । पुरस्कार पाउनेमा तिलागुफा नगरपालिका–११ का टेकबहादुर शाही प्रथम, खाँडाचक्र नगरपालिका–६ का जनकबहादुर शाही द्वितीय र रास्कोट नगरपालिका–९ का गोकर्ण न्यौपाने तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख दिवाकर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट किसान छनोट प्रक्रिया तोकिएको मापदण्डका आधारमा गरिएको हो । चालु आर्थिक वर्षमा १२ वटा प्रस्ताव प्राप्त भएकोमा कृषि क्षेत्रमा नयाँ अभ्यास, उत्पादन वृद्धि, व्यावसायिकता लगायतका सूचकका आधारमा किसान छनोट गरिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीतबहादुर शाहीले कृषि जिल्लाको आर्थिक समृद्धिको मुख्य आधार भएकाले मेहनती र सफल किसानलाई सम्मान गरिनु सकारात्मक अभ्यास भएको उल्लेख गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउन स्थानीय तह र किसानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी जयराम भट्टराईले कृषि आत्मनिर्भरता र समृद्धिको आधार भएको बताउँदै कृषि क्षेत्रका चुनौतीलाई अवसरमा बदल्न आधुनिक प्रविधि, बजार व्यवस्थापन र सरकारी सेवाको प्रभावकारी पहुँच आवश्यक रहेको बताउनुभयो । सम्मानित किसान टेकबहादुर शाहीले सरकारको सम्मानले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । उहाँले निरन्तर मेहनत र नयाँ प्रविधिको प्रयोगबाट कृषिमा सफलता हासिल गर्न सकिने बताउँदै यस्ता कार्यक्रमले उत्पादन वृद्धि, कृषि व्यवसायीकरण र युवालाई कृषितर्फ आकर्षित गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।










प्रतिक्रिया