खोज–अनुसन्धान

डिजिटल धुनको भीडमा हराएन मादलको ताल



सुनसरी, २१ कात्तिक

तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन् । आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन । तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन् । धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताउनुभयो । विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आउनुभएका उहाँका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ । सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ । चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आउनुभएको छ । उहाँले रु तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्री गर्दै आउनुभएको छ । पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गर्नुभएको छ । आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उहाँको भनाइ छ । उहाँको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् । धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आउनुभएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउनुभयो । विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीको पसलमा रु दुई हजारदेखि सात हजारसम्मका मादल राखिएका छन् । अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ । लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ । भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आउनुभएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिनुभयो । देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उहाँको भनाइ छ । यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आउनुभएको छ । उहाँका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ । तिहारको समयमा रु एक लाखदेखि डेढ लाखसम्मको मादल बिक्री हुने गरेको उहाँले बताउनुभयो । तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ । —

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६