अर्थ-वाणिज्य

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान



ढोरपाटन (बागलुङ), ३२ असार

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ । नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो । सबै सुकुम्वासी परिवारले घर, जग्गा र लालपुर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासीमुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसअनुसार नगरपालिकाले सुकुम्वासीको पहिचान, जग्गा खरिद, घर निर्माण र लालपुर्जा वितरणको काम गरेको बताउनुभयो । नगरपालिकाले सुकुम्वासीका साथै प्राकृतिक विपद्का कारण विस्थापित तथा आर्थिक अभावका कारण घर बनाउन नसकेका ४४ परिवारका लागि पनि घर निर्माण गरिदिएको छ । त्यसका लागि नगरपालिकाले कार्यविधि बनाएर घरविहीन परिवारलाई रु तीन लाख, विपद्का कारण घर गुमाएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख सहयोग उपलब्ध गराएको उपप्रमुख शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा तीन पुस्तासम्म घर नभएका परिवारलाई आवास निर्माण गरिएको थियो । दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण आफ्नै घरमा बस्न नसकी अरूकै घरमा आश्रित परिवारलाई घर निर्माण गरेर बसोबासको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । घर प्राप्त गर्ने स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगपछि स्थायी रूपमा बस्ने ठाउँको चिन्ता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समस्यामा पर्दा नगरपालिकाले घर बनाइदियो । अहिले गरिब र विपन्नको समस्या पनि सम्बोधन भएको अनुभूति भएको छ । घर पाएपछि अब बाँकी आवश्यकता मेहनत गरेर पूरा गर्न सकिन्छ ।” –––

Powered By  Orson Infotech

प्रकाशित : ३२ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६