काठमाडौँ, २९ साउन
नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै हुने स्पष्ट पार्नुभयो । मन्त्री पोखरलेले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो । छलफलमा सहभागी सम्पादक तथा प्रतिनिधिले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई फराकिलो बनाउन सुझाव दिनुभयो । सम्पादक तथा प्रतिनिधिले सरकार र सञ्चारमाध्यमबीचको प्रभावकारी सम्बन्धले नै लोकतन्त्र र सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने भएकाले अन्तर–मन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो । छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको तथा शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक नीतिगत परिवर्तन आवश्यक रहेको उहाँहरूको सुझाव थियो । छलफलमा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारी, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल, नेपाल लाइभका प्रधानसम्पादक रामप्रसाद दाहाल, बाह्रखरीका कार्यकारी सम्पादक बलराम पाण्डे, टेकपानाका सम्पादक गोपाल साउद, सिधाकुराका सम्पादक अक्षर काका, कारोबार दैनिकका समाचार प्रमुख सरस्वती ढकाल र स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकाल सहभागी हुनुहुन्थ्यो ।










प्रतिक्रिया