काठमाडौँ, २९ साउन
नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा प्रकाश तिवारीको पुस्तक ‘शब्दशास्त्रविज्ञानम्’ सार्वजनिक भएको छ । वाल्मीकि विद्यापीठमा आज आयोजित कार्यक्रममा सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पुस्तक लोकार्पण गर्नुभएको हो । विश्वविद्यालयको नव्यव्याकरण विषय, शास्त्री चतुर्थ वर्षको सप्तम पत्रमा आधारित पुस्तक परिमार्जित नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको हो । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले विद्यापीठका प्राध्यापकलाई देवघाटधाममा रहेका तीन वटा गुरुकूलमा गएर अध्यापन गराउन अनुरोध गर्नुभयो । महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम र गलेश्वर आश्रमले सञ्चालन गरेका ती गुरुकूलमा अहिले पनि एक हजारभन्दा बढी विद्यार्थीले संस्कृत अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका सभापति एवं विश्वविद्यालयका प्रा डा भीमप्रसाद कँडेलले नयाँ पाठ्यक्रम बनेर लागू भइसकेको जनाउँदै यस्तो अवस्थामा रहेको पुस्तकको अभावलाई ‘शब्दशास्त्रविज्ञानम्’ ले पूर्ति गरेको बताउनुभयो । भाषा विज्ञानविद् प्रा डा माधवप्रसाद पोखरेलले नेपाल संस्कृत विश्वविद्यालयमा खोज तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । अनुसन्धानले विश्वविद्यालयलाई थप उचाइमा लैजाने उहाँको विश्वास छ । पुस्तकका लेखक तिवारीले व्याकरणलाई शब्दशास्त्र पनि भनिने उल्लेख गर्दै पौरस्त्य विधालाई प्रतिपादन गरिएकाले विज्ञान शब्द जोडिएको बताउनुभयो । पुस्तकका विषयमा समीक्षा गर्दै प्रा डा जीवन अधिकारीले विश्वविद्यालयमा अनुसन्धान पद्धति आवश्यक रहेकामा जोड दिनुभयो । त्यसको सुरुवात् पुस्तकका माध्यमबाट लेखकले गर्नुभएको उहाँको भनाइ छ । लेखकले यसअघि अनुसन्धान पद्धति नामक पुस्तक लेखिसक्नुभएको पनि अधिकारीले जानकारी दिनुभयो । समीक्षक सह प्राध्यापक केशवशरण अर्यालले पुस्तकमा चार खण्ड रहेका उल्लेख गर्दै व्याकरण शास्त्रको इतिहास, प्राचीन व्याकरणको परिचय, भाषा उत्पत्ति, भाषा विज्ञानलगायत विषय पनि पुस्तकमा समेटिएको जानकारी दिनुभयो । प्रा डा देवी नेपालले ‘शब्दशास्त्रविज्ञानम्’ पुस्तक भाषाका क्षेत्रमा महत्त्वपूर्ण आयाम भएको बताउनुभयो ।










प्रतिक्रिया