ब्रेकिंग न्युज

पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै



कास्की, १४ असोज

पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीको ठूलो चाड दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सव गर्न लागिएको हो । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सव सफल बनाउन पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा यस क्षेत्रका विभिन्न व्यक्तित्वले जोड दिनुभएको छ । महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यावसायिक गतिविधि महोत्सवमा समेटिने भण्डारीले बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताउनुभयो । “दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन । पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ,” भुजेलले भन्नुभयो । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताउनुभयो । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पु¥याउन महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो । –––

प्रकाशित : १४ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६