नेपालगञ्ज (बाँके), १४ असोजः
करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ । अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालन गरिएकाकारण क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम भएको छ । क्यान्सर उपचारका लागि आवश्यकपर्ने रेडियोथेरापी सेवा बन्द हुँदा धेरै बिरामीलाई अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । बिग्रिएका उपकरण मर्मतगरी सेवा पुनःसञ्चालन गरिएपछि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी मेसिनको आवश्यक मर्मतपछि यसै सातादेखि दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । “क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो । उपकरणमा आएको प्राविधिक समस्याका कारण लामो समय सेवा प्रभावित भए पनि मर्मतपछि अहिले सेवा पुनः सञ्चालनमा आएको छ”, उहाँले बताउनुभयो । लिन्याक नामक उपकरणले क्यान्सर प्रभावित भागमा आवश्यकमात्रामा विकिरण केन्द्रित गरी उपचार गर्न सहयोग गर्छ । त्यसबाट शरीरको प्रभावित भागमा लक्षित रूपमा विकिरण दिइने भएकाले क्यान्सर उपचारमा त्यसको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै ब्रेकिथेरापीमा पनि प्रभावित स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिने डा गुप्ताले बताउनुभयो । दुवै प्रविधि क्यान्सरका विभिन्न अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने भएकाले उपकरण सञ्चालनमा आउनुलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालका निर्देशक डा नीरज भट्टराईले बताउनुभयो । उहाँका अनुसार, रेडियोथेरापीका दुवै उपकरण सञ्चालनमा आएपछि बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ । उक्त अस्पताल पछिल्लो समय पश्चिम नेपालका क्यान्सर बिरामीका लागि उपचारको महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ । अस्पतालमा रेडियोथेरापीबाहेक किमोथेरापी, क्यान्सरसम्बन्धी शल्यक्रिया, सिटीस्क्यान, म्यामोग्राफी तथा भिडियो एक्सरेलगायतका सेवा उपलब्ध छन् । क्यान्सर उपचारका क्रममा गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारलाई ध्यानमा राखेर अस्पतालमा सघन उपचार कक्ष, भेन्टिलेटर तथा बिरामीको निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका परीक्षण तथा उपचार सेवा एउटै अस्पतालबाट उपलब्ध हुन थालेपछि बाँकेसहित पश्चिम नेपालका अन्य जिल्लाका बिरामीलाई उपचारमा सहजता भएको अस्पतालको भनाइ छ । रेडियोथेरापी सेवा लामो समय बन्द हुँदा उपचारका लागि अस्पतालमा आउने बिरामीलाई थप खर्च, समय र आवतजावतको समस्या हुने गरेको थियो । दुवै उपकरण सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि बाहिरी जिल्लाबाट खजुरा आउने बिरामीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । अस्पतालका सूचना अधिकारी डा गुप्ताकाअनुसार रेडियोथेरापी सञ्चालनमा आएसँगै अब क्यान्सरका बिरामीलाई काठमाडौँ, भक्तपुर, चितवन र भरतपुर जानुपर्ने बाध्यता हटेको छ । —









प्रतिक्रिया