काठमाडौँ, २१ असोजः
इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिइएको छ । निर्वाचन आयोगद्वारा आयोजित ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तक्र्रिया कार्यक्रम’मा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधि, जनशक्ति र संस्थागत क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रणालीको विश्वसनीयता र सुरक्षित सञ्चालनका लागि साइबर सुरक्षा तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । निर्वाचन आयुक्त डा राजीव सुब्बाले भविष्यमा नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा अघि बढ्दा आयोगमा मात्र नभई सरकारका विभिन्न निकायमा उपलब्ध सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप, जनशक्ति र प्राविधिक क्षमताको ‘स्किल म्यापिङ’ गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले इन्टरनेट मतदान बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित विषय भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार र सञ्चालनलगायत क्षेत्रमा उपलब्ध विशेषज्ञता र सीपको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । ‘स्किल म्यापिङ’ले आवश्यक प्राविधिक जनशक्ति, विशेषज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोगका लागि आधार प्रदान गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी विज्ञले इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा र सञ्चालनसम्बन्धी विषयमा जानकारी दिनुभएको थियो ।









प्रतिक्रिया