ब्रेकिंग न्युज

तीनै तहका सरकारबीच सहकार्यबाट नागरिकको अवस्था सुधार्नुपर्नेमा जोड



सुदूरपश्चिम, २३ असोजः

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष कुमारी शर्मा थापाले नागरिकको सामाजिक तथा आर्थिक अवस्था सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति कैलालीद्वारा आज आयोजित वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा उहाँले विकास निर्माणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारले नियमित संवाद र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले नागरिकले प्रत्यक्ष लाभ पाउने योजनालाई प्राथमिकता दिन र अधुरा योजनालाई सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । विकासका कार्यक्रम नागरिकको आवश्यकता र अपेक्षाअनुसार कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारुले सुशासनलाई प्राथमिकतामा राख्दै प्रदेशको समग्र विकासका लागि सहकार्य र सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतामाथि उठेका प्रश्नको सही ढङ्गले जवाफ दिने दायित्व प्रदेश तथा स्थानीय तहको पनि भएको उल्लेख गर्दै उपलब्ध स्रोतको उचित सदुपयोग र परिचालनमा ध्यान दिन आग्रह गर्नुभयो । “कानुनी र क्षेत्राधिकारसम्बन्धी समस्या छन् । सङ्घीयतालाई बलियो बनाउन ती समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । तथापि, प्राप्त अधिकारको प्रयोग गर्दै सुशासन, सहअस्तित्व र एकताको भावनासहित स्रोतको सदुपयोग र सही परिचालनमा ध्यान दिऔँ”, उहाँले भन्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरी, जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका चौधरी (भुल) र उपप्रमुख खगराज भुसाललगायतले स्थानीय विशेषता र आवश्यकताका आधारमा नीति, योजना तथा कार्यक्रम छनोट गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय, सहकार्य र नियमित अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो । –

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६