देश

आस्था, संस्कृति र संरक्षणको सङ्गम बन्यो चण्डेश्वरी मन्दिरको ज्ञान महायज्ञ



कपिलवस्तु, २५ असोज

धर्म र संस्कृतिको संरक्षण, मौलिक परम्पराको पुस्तान्तरण तथा आध्यात्मिक चेतना अभिवृद्धिको पवित्र सङ्कल्प सहित कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ–२०८३ शुभारम्भ भएको छ। मन्दिरको प्राणप्रतिष्ठा तथा दीर्घकालीन संरक्षणका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले असोज २५ गतेदेखि सुरु भएको महायज्ञ कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ।


भक्तिभाव, धार्मिक आस्था र सांस्कृतिक उत्साहका बीच आयोजित महायज्ञले मन्दिर परिसरलाई आध्यात्मिक गतिविधिको केन्द्र बनाउनुका साथै स्थानीय समुदायलाई धर्म, संस्कार र सामाजिक एकताको सूत्रमा जोड्ने अपेक्षा गरिएको छ। धार्मिक अनुष्ठानका रूपमा मात्र नभई पुरानो धार्मिक सम्पदाको संरक्षण र भावी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने अभियानका रूपमा समेत महायज्ञलाई लिइएको छ।
महायज्ञको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विष्णु प्रसाद पन्थीले आफूहरू अध्ययनका लागि आउँदादेखि नै परिचित रहेको पुरानो मन्दिरको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ता सक्रिय भएको देख्दा उत्साह लागेको बताउनु भयो। उहाँले मन्दिरको संरक्षणमा युवाले देखाएको चासो र अग्रसरताको प्रशंसा गर्दै यस्ता प्रयासले मौलिक संस्कृति जोगाउन महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो।
पन्थीले नेपाली मौलिक संस्कृति र परम्पराप्रति नागरिकलाई जागरुक बनाउन तथा नैतिक मूल्य र संस्कारमा आधारित सभ्य समाज निर्माण गर्न धार्मिक महायज्ञको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँका अनुसार धर्म र संस्कृतिसँग जोडिएका यस्ता कार्यक्रमले समाजमा सद्भाव, सहिष्णुता र मानवीय एकताको भावना बलियो बनाउन सहयोग पु¥याउँछन्।


महायज्ञ शुभारम्भ समारोहका विशिष्ट पाहुना बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल र महायज्ञका प्रमुख वाचक ऋषिकेश उपाध्यायले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बाणगंगा नगरपालिका–४ का वडाध्यक्ष छविलाल रेश्मी मगर, नेपाली कांग्रेसका नगर सभापति रविराज आचार्य तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष मुनाराम चालिसेको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा मूल व्यवस्थापन समितिका सदस्य गोविन्द्र पोख्रेलले सञ्चालन गर्नुभएको थियो भने सदस्य मिलन चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो। महायज्ञका संयोजक चालिसेले धार्मिक अनुष्ठानलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न आयोजक समिति तथा स्थानीयवासी सक्रिय रहेको बताउनुभयो ।

प्रकाशित : २५ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६