कपिलवस्तु ११ कार्तिक
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा १९ किमी सडकखण्ड चार लेनमा विस्तार गर्न साढे चार अर्बको ठेक्का भएकोछ । १९ दशमलव २ किलोमिटर लामो सडक विस्तारका लागि चिनियाँ कम्पनी चाइना एनसीसी १७ ग्रुप कम्पनी लिमिटेडले चार अर्ब ५६ करोड ६६ लाख रुपैयाँभन्दा बढीको ठेक्का पाएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले उक्त कम्पनीलाई ठेक्का दिने निर्णय गरेको हो। उक्त रकम मूल्य अभिवृद्धि कर पीएस सहितको हो।‘एक्सेस नेपाल फेज–वाल’ परियोजनाअन्तर्गत विस्तार गर्न लागिएको सडकखण्ड हाल दुई लेनको छ। विस्तारपछि सर्भिस लेनसहित आधुनिक चार लेनको सडक निर्माण हुनेछ। सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गरेको ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारी पनि सोही कम्पनीले बहन गर्नेछ । सडक विस्तारका क्रममा १२ वटा पुल, ६० वटा कल्भर्ट र वन्यजन्तुको सुरक्षित आवागमनका लागि छ वटा अन्डरपास निर्माण गरिनेछ। पैदलयात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडकको दुवै किनारमा दुई दशमलव पाँच मिटर चौडाइका फुटपाथसमेत निर्माण गरिने योजना छ ।त्यस्तै, चन्द्रौटा बजार क्षेत्रमा सवारी आवागमन सहज बनाउन चन्द्रौटा चोकमा २० मिटर चौडाइ र ८०० मिटर लम्बाइको भ्युकुलर अन्डरपास निर्माण गरिनेछ। वन क्षेत्र तथा वन्यजन्तुको सुरक्षित आवतजावत सुनिश्चित गर्न ठूला, मझौला र साना जनावरलाई लक्षित गरी अन्डरपास निर्माण गरिने भएकाले सडक विस्तारले यातायात सहजतासँगै वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।सडक विस्तारपछि गोरुसिङ्गे–चन्द्रौटा खण्डमा सवारी आवागमन सहज हुनुका साथै यात्रा समय घट्ने, सडक सुरक्षा सुधार हुने र यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया