अर्थ-वाणिज्य

गड्यौले मल उत्पादनमा किसानको आर्कषण



कपिलवस्तु, १२ कात्तिक

माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा कपिलवस्तुका कृषक गड्यौले मल उत्पादन तथा प्रयोगमा लागेका छन् । जैविक पदार्थबाट तयार हुने गड्यौले मलले माटोको गुणस्तर सुधार गर्न र बाली उत्पादन बढाउन सहयोग गर्ने भए पनि जिल्लामा यसको उत्पादन र प्रयोग भने सीमित रहेको छ । यशोधरा गाउँपालिकास्थित चाँदनी एकीकृत कृषि फर्मले २०७९ सालदेखि गड्यौला पालनसम्बन्धी तालिम, गड्यौलाको बीउ तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । फर्मले १५ वटा पिटमार्फत मासिक करिब तीन हजार किलो गड्यौले मल उत्पादन गर्दै आएको छ । उत्पादित मल प्रतिकिलो रु ३० का दरले बिक्री भइरहेको छ । गाईभैँसीको गोबर, तरकारीका बोक्रा, पातपतिङ्गरलगायत कुहिने जैविक पदार्थबाट तयार गरिने यस मलको प्रयोगले माटोको संरचना सुधार गर्न, चिस्यान कायम राख्न र बिरुवालाई आवश्यक पोषकतत्व उपलब्ध गराउन मद्दत पुग्छ । कृषकले आफ्नै खेतबारीमा प्रयोग गर्नुका साथै बढी भएको मल र गड्यौलाको बीउ बिक्री गरेर आम्दानीसमेत गर्न सक्छन् । यशोधरा गाउँपालिका–३ बहडिलवाका कृषक कृष्णनन्द कोहारले बोडीखेतीमा गड्यौले मल प्रयोग गर्दा उत्पादन दोब्बर भएको अनुभव सुनाउनुभयो । उहाँका अनुसार गड्यौले मलको प्रयोगले खेतीको उत्पादन बढाउन सहयोग पुगेको छ । यशोधराका अन्य कृषकले तरकारी, धान, मकै, गहुँ र आलुलगायत बालीमा गड्यौले मलको प्रयोग गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा गड्यौले मल उत्पादन तथा प्रयोग गर्ने कृषकको यकिन तथ्याङ्क उपलब्ध नरहेको बताउनुभयो । रासायनिक मलको विकल्पका रूपमा गड्यौले मल उपयोगी भए पनि आवश्यक परिमाणमा उत्पादन गरी सबै कृषकसम्म पु¥याउन कठिन रहेको प्रमुख चौधरीले बताउनुभयो । –––

प्रकाशित : १३ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६