बाँके, १३ कात्तिक
नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मिठाइ तथा होटेल व्यवसायीसँगको अन्तरक्रियामा मिठाइको नाम, मुख्य समिश्रण, तेल, घीउको प्रकार, उपभोग मिति र मूल्य सूची खुलाउन समेत व्यवसायीलाई अनुरोध गरिएको छ । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न व्यवसयाीलाई आग्रह गर्दै कैफियत भेटिए कारबाही हुने चेतावनी दिनुभयो । उहाँले मिठाइ पसलमा फोहरको व्यवस्थापन, खानेपानीको व्यवस्थापनका विषयमा सम्झौता नहुने उल्लेख गर्दै विभागको निर्देशनलाई सबैले पालना गर्न आवशयक रहेको धारणा व्यक्त गर्नुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख सुमन धितालले मिठाई व्यवसायाीलाई आगामी सोमबारभित्र लेबल लगाउनका लागि जिल्लामा समय तय गरिएको जानकारी दिँदै लेबल नलगाएको पाइएमा कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्जको राबडी जस्तै यहाँका मिठाइ व्यवसायीले ख्याति प्राप्त गर्नुहुने विश्वास छ ।” प्रमुख धितालले नेपालगन्जको द केक एण्ड बेकरीबाट लेबल लगाउन सुरु गरिएको जानकारी दिनुभयो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले नेपालगञ्जमा दक्ष र अनुभवी मिठाइ व्यवसायी भएपनि परम्परागत भएको उल्लेख गर्दै मिठाइ व्यवसायीले लेबल राखेर बेचविखन गर्दा व्यवसायीको प्रतिष्ठा बढ्ने उल्लेख गर्नुभयो । अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले मिठाई व्यवसायीलाई खाद्य स्वच्छताबारे जानकारी दिँदै कानुनी अवस्थाबारे बताउनुभयो । खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतमा भन्दा अहिले मिठाई पसलमा सुधार आएको उल्लेख गर्दै अझै फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार व्यवसायीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट उपभोक्तासहित सबैले लाभ पाउने बताउनुभयो । व्यवसायीले आफूले उत्पादन गरेको मिठाइ कुन कुन कच्चा पदार्थको मिश्रणबाट बनेको लगायतका विवरण उपभोक्ताले देख्ने गरी राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही कात्तिक ११ गतदेखि नै लागू हुने गरी सूचना जारी गरेको थियो । –––









प्रतिक्रिया