खोज–अनुसन्धान

पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु



पाल्पा, १४ कात्तिक

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो । गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब रु ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ । प्राकृतिक विपद्को प्रहार कृषि, पशुपन्छी, सडक, सिँचाइ, तटबन्ध र खानेपानीका संरचनासम्म पुगेको छ । कृषि बालीमा मात्रै करिब रु एक करोड ५० लाख र पशुपन्छी तथा मत्स्य क्षेत्रमा रु ४५ लाख ७५ हजार बराबरको क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी रु २७ लाख ७० हजार, तानसेन नगरपालिकामा रु १० लाख ८५ हजार र माथागढी गाउँपालिकामा रु सात लाख २० हजार बराबरको क्षति भएको छ । बाढीपहिरोले १२९ घर तथा संरचनामा क्षति पुर्याएको छ भने ७० वटा खानेपानी आयोजनामा असर परेको छ । खानेपानी संरचना मर्मतका लागि रु दुई करोड ४० लाख आवश्यक पर्ने खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ । यस्तै, १४ वटा सिँचाइ आयोजनाको पुनःनिर्माणका लागि रु तीन करोड ९५ लाख र माडीफाँटमा तटबन्ध निर्माणका लागि रु आठ करोड ८६ लाख रुपैयाँभन्दा बढी आवश्यक देखिएको छ । सडक सञ्जाल पुनःनिर्माणमा करोडौँको भार बाढीपहिरोले सङ्घीय तथा प्रादेशिक सडक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गतका छ वटा सडक आयोजनाको मर्मतका लागि रु १६ करोड ८३ लाख लाग्ने अनुमान गरिएको छ । सिद्धार्थ राजमार्ग, बर्तुङ-तानसेन-रिडी सडक, रुद्रवेणी-वामीटक्सार-खर्वाङ सडक, मदनभण्डारी राजमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पहिरो, सडक भासिने र कटानका समस्या देखिएका छन् । भिमाद-रामपुर-मित्याल-अरुणखोला सडकको केलादीघाटस्थित पुलमा समेत क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ । त्यसैगरी, प्रादेशिक सडकअन्तर्गतका आठ वटा सडक मर्मत तथा पुनः सञ्चालनका लागि रु तीन करोड ७५ लाख आवश्यक पर्ने सडक पूर्वाधार कार्यालयले जनाएको छ । तानसेन-रानीमहल, हुमिन-सिमल्दी-पूर्वखोला, रामपुर-कपुरकोटलगायतका सडकमा पहिरो, कटान र सडक भासिने समस्या देखिएको छ । सम्भावित विपद् रोक्न प्रशासनको सतर्कता आगामी दिनमा हुन सक्ने बेमौसमी वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । सङ्घीय सांसद, जिल्ला समन्वय समिति, राजनीतिक दल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सरकारी कार्यालयका प्रमुखहरूको बैठकले विपद्बाट हुन सक्ने थप क्षति न्यूनीकरण गर्न सबै पक्षलाई जिम्मेवार भएर कार्यक्षेत्रमा खटिन र सावधानी अपनाउन निर्णय गरेको छ । विपद्का कारण जनधनको क्षतिसँगै जिल्लाको पूर्वाधार पुनःनिर्माणमा ठूलो आर्थिक भार थपिएको उहाँको भनाइ छ । —

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६