प्रेसपाटी डेक्स, १७ कात्तिक
कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको आधारका रूपमा विकास गर्ने लक्ष्यसहित कपिलवस्तुको शिवराज नगरपालिकाले कृषि उत्पादन, संरक्षण, भण्डारण र व्यावसायिक खेती प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका कृषि विकासका विभिन्न कार्यक्रम बाट ६ हजारभन्दा बढी कृषक प्रत्यक्ष लाभान्वित भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको कृषि विकास शाखाका अनुसार उक्त आर्थिक वर्षमा कृषि क्षेत्रको विकासलाई उत्पादन वृद्धिमा मात्र सीमित नराखी बीउको उपलब्धता, कृषि प्रविधिको विस्तार, बाली संरक्षण, उपजको भण्डारण र कृषकको आयआर्जनसँग जोडेर कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले यसलाई ‘जरादेखि बालीसम्म शिवराज नगरपालिकाको कृषि विकास यात्रा’ का रूपमा अघि बढाएको जनाएको छ।
कृषि उपजको संरक्षण तथा भण्डारणलाई प्राथमिकता दिँदै नगरपालिकाले ६ हजार ६ सय ४५ बोरा कृषि उपज कोल्ड स्टोरमा भण्डारण गरेको विवरण सार्वजनिक गरेको छ। यसले उत्पादनपछि उचित बजार मूल्यको प्रतीक्षामा रहेका कृषकलाई उपज सुरक्षित राख्ने अवसर प्रदान गर्नुका साथै तत्कालै सस्तो मूल्यमा कृषि उपज बिक्री गर्नुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, गहुँ खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषकलाई १ हजार ४५ क्विन्टल गहुँको बीउ वितरण गरेको जनाएको छ। गुणस्तरीय बीउको उपलब्धताले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सक्ने भएकाले बीउ वितरणलाई कृषि विकासको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ।
कृषिमा प्रविधि र प्राविधिक सेवाको पहुँच विस्तार गर्न नगरपालिकाले ११ वटै वडामा प्राविधिक तालिम तथा बाली उपचार सेवा उपलब्ध गराएको दाबी गरेको छ। रोग तथा कीराको पहिचान, समयमै उपचार र आधुनिक खेती प्रणालीबारे जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले कृषकलाई परम्परागत खेती प्रणालीबाट व्यावसायिक तथा प्रविधिमैत्री कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
मकै खेतीको व्यावसायिक विस्तारलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ। हिउँदे र बर्खे मकै खेती प्रवद्र्धनका लागि दुईवटा कृषक समूह गठन गरी खेतीको क्षेत्रफल विस्तार गर्ने कार्यक्रम अघि बढाइएको छ। यसका लागि १५ क्विन्टल मकैको बीउ अनुदानमा वितरण गर्नुका साथै कृषि उपकरणमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। बीउ, उपकरण र समूहगत खेतीलाई एकीकृत गर्दा उत्पादन लागत घटाउने र व्यावसायिक उत्पादन बढाउने सम्भावना रहने कृषि क्षेत्रका जानकारहरूको बुझाइ छ।
कृषिलाई खाद्यान्न उत्पादनमा मात्र सीमित नराखी अतिरिक्त आम्दानीको स्रोत बनाउने उद्देश्यले पुष्पखेतीलाई पनि प्रवद्र्धन गरिएको छ। चाडपर्वलाई लक्षित गरी १२ हजार सयपत्रीका बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी तिहारलगायतका पर्वमा फूलको माग उच्च हुने भएकाले स्थानीय स्तरमै सयपत्री उत्पादन गर्न सके कृषकले फूल बिक्रीबाट अतिरिक्त आम्दानी लिन सक्ने आधार तयार हुन्छ।
नगरपालिकाका यी कार्यक्रमले कृषि क्षेत्रलाई उत्पादन, संरक्षण, प्रविधि र बजारसँग जोड्ने प्रयास गरेको देखिन्छ। तर, कृषि विकासको वास्तविक उपलब्धि वितरण गरिएका बीउ, बिरुवा, उपकरण वा भण्डारण गरिएको परिमाणबाट मात्र मापन हुँदैन। त्यसबाट कति उत्पादन वृद्धि भयो, कृषकको लागत कति घट्यो, आम्दानीमा कस्तो परिवर्तन आयो र उत्पादित वस्तुले उचित बजार मूल्य पायो वा पाएन भन्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
विशेषगरी कृषि उपजको भण्डारण सुविधालाई प्रभावकारी बनाउन शीतभण्डारको क्षमता, सञ्चालन खर्च, कृषकको पहुँच र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक देखिन्छ। त्यस्तै, मकै तथा पुष्पखेती विस्तारलाई दिगो बनाउन उत्पादनसँगै बजारीकरण, प्रशोधन र व्यावसायिक सञ्जाल निर्माणमा जोड दिनुपर्ने देखिन्छ।
कृषि क्षेत्रको विकासलाई स्थानीय रोजगारी, आयआर्जन र आर्थिक समृद्धिसँग जोड्न सके मात्र यस्ता कार्यक्रमको दीर्घकालीन प्रतिफल प्राप्त हुन सक्छ। शिवराज नगरपालिकाले एक आर्थिक वर्षमा अघि सारेका कृषि कार्यक्रमलाई आगामी दिनमा उत्पादनको परिणाम र कृषकको जीवनस्तरमा आएको परिवर्तनसँग जोडेर निरन्तरता दिन सके कृषि क्षेत्र स्थानीय अर्थतन्त्रको भरपर्दो आधार बन्न सक्नेछ ।









प्रतिक्रिया