ब्रेकिंग न्युज

पाल्पाका तीन परिवारलाई तिहारको उपहारः भूकम्प प्रतिरोधी घर



पाल्पा, १८ कात्तिक

श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् । दुःखपछि सुख फर्किन्छ भने जस्तै, यसपटकको तिहार उहाँका लागि विगतभन्दा फरक हुने भएको छ । सुरक्षित घर पाएपछि रानाले खुसी व्यक्त गर्दै भन्नुभयो, “हाम्रा दुःखका दिन सकिएको जस्तो लागेको छ ।” उहाँले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । अब चर्किएको घरमा डरैडरमा रात काट्नुपर्ने वाध्यता हटेको छ । नयाँ सुरक्षित घरमा परिवारसँगै उज्यालोको पर्व मनाउने अवसर प्राप्त भएको छ । रानासँगै रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं ६ माझटोलकी गनमाया घर्तीको जीवनमा नयाँ खुसी थपिएको छ । रामपुर नगरपालिका, गैरसरकारी संस्था ‘निवास’ को सहयोग, टुकी फाउन्डेसन आर्थिक साझेदारीमा निर्माण गरिएका दुईकोठे भूकम्प प्रतिरोधी घर र शौचालय पाएपछि उनीहरुले सुरक्षित आवासको सपना पूरा गरेका छन् । “चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो, अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,” घरको साँचो बुझ्दै घर्तीले खुसी व्यक्त गर्नुभयो । तीन परिवारलाई घर हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले आवाससँगै आत्मनिर्भर बनाउने कार्यक्रम अघि बढाइने बताउनुभयो । बालबालिकाको शिक्षा र परिवारको आयआर्जनमा नगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ । टुकी फाउन्डेसनका कार्यकारी निर्देशक शिला सेनका अनुसार एउटा घर निर्माणमा आठ लाख १४ हजार ६८० खर्च भएको छ । नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार सहयोग गरेको छ भने बाँकी रकम फाउन्डेसनले व्यहोरेको हो । घर हस्तान्तरणसँगै उनीहरुलाई आफूले रोजेको व्यवसाय सञ्चालन गर्न प्रतिपरिवार रु ३० हजार सहयोग गर्ने योजना छ । वर्षायाममा ओतको चिन्ता र सधै असुरक्षित घरको पीडा बोकेका यी आमाका लागि यसपटक तिहार केवल बत्ती बाल्ने पर्व मात्र हुने छैन, सुरक्षित घरमा नयाँ आशा र खुसी साट्ने अवसर बन्नेछ । –––

प्रकाशित : १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६