देश

समय अनुसार विचार र कार्यशैली बदल्दै एमालेलाई बलियो बनाउन्छौं एमाले उपाध्यक्ष गोकर्ण विष्ट



कपिलवस्तु २१ कात्तिक

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्टले बदलिँदो समय, प्रविधि र सामाजिक परिवेश अनुसार पार्टीको विचार, कार्यशैली र संगठनात्मक अभ्यासलाई रूपान्तरण गर्दै लैजानुपर्ने बताएका छन्। उनले नयाँ पुस्ताको सोच, विज्ञान तथा प्रविधिको विकास र समय सापेक्ष विचारलाई पार्टीले पर्याप्त स्थान दिनुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) बाणगंगा नगर कमिटी, कपिलवस्तुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उपाध्यक्ष विष्टले अबको प्रतिस्पर्धा ज्ञान, सीप, प्रविधि र नवीन सोचमा आधारित हुने बताए। विज्ञान तथा प्रविधिमा दक्षता हासिल गरेका व्यक्तिले अवसरको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न सक्ने उल्लेख गर्दै उनले प्रविधिले आर्थिक रूपमा कमजोर व्यक्तिलाई समेत विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवसर प्रदान गरेको धारणा राखे।


उनले जनवर्गीय संगठनहरू आफ्ना अधिकार र हितका लागि संगठित हुन आवश्यक रहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीले प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा आफूलाई थप सक्षम बनाउनुपर्ने बताए। बहुदलीय जनवादको मान्यतालाई आत्मसात् गर्दै जनताको विश्वास जित्ने गरी जबजलाई अझ समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो।
विचार स्थिर र अपरिवर्तनीय विषय नभएको उल्लेख गर्दै विष्टले समय र परिस्थितिअनुसार विचारको विकास तथा रूपान्तरण हुन सक्ने बताए। पार्टीभित्र नयाँ विचार, सिर्जनशीलता र क्षमतालाई स्थान दिनुपर्नेमा जोड दिँदै उनले प्रगतिशील सोच र नवीन अभ्यासबिना संगठनलाई गतिशील बनाउन नसकिने धारणा व्यक्त गरे । पार्टीभित्रका कमजोरी स्वीकार गर्दै प्रक्रियागत रूपमा सुधार गर्नुपर्ने बताउँदै उनले एमालेलाई थप एकताबद्ध र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै संगठनात्मक शैली परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। समय धेरै बदलिएको र युवाको दैनिक जीवन, सोच तथा अपेक्षा समेत परिवर्तन भएकाले पार्टीले त्यसअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने उनले बताए।


समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै विष्टले संसद्को प्रभावकारिता कमजोर हुँदै गएको र सरकारलाई सही दिशा देखाउने भूमिका थप सशक्त हुनुपर्ने आवश्यकता औँल्याए। प्रेसमाथि सरकारबाट छापा मारिएको प्रसङ्ग उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र संस्थागत सन्तुलनको संरक्षण आवश्यक रहेको धारणा राखे। यस्तो राजनीतिक परिस्थितिमा कार्यकर्ताको मनोबल उच्च राख्दै पार्टीलाई जनतासँग जोड्नुपर्ने उनले बताए।
कार्यक्रम नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले नेता गिरधारीलाल न्यौपाने, बलराम अधिकारी, बिमला घिमिरे, झविलाल पोखरेल, डम्मर शर्मा, बाबुराम खनाल, चक्रपाणी अर्याल, धर्म भुसाल, विमला चौधरी, धनु अधिकारी, मेराज खाँ, शंकर पाण्डे, सिवि गहतराज, देवी बहादुर पोख्रेल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६