सम्पादकीय

रामदास गुप्तप्रति कपिलवस्तुको सामूहिक श्रद्धाञ्जली



कुनै व्यक्तिको जीवनको मूल्य उसको पद र प्रतिष्ठाले मात्र होइन, समाज र नागरिकका लागि पु¥याएको योगदानले निर्धारण गर्छ। सार्वजनिक जीवनमा समर्पित व्यक्तित्वको निधन हुँदा परिवार मात्र होइन, समाज र सिङ्गो समुदायले अभिभावक गुमाएको अनुभूति गर्छ। कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख राम दास गुप्तको निधन र उहाँप्रति जिल्लाका पाँच स्थानीय तहले व्यक्त गरेको सामूहिक श्रद्धाञ्जलीले यही सन्देश दिएको छ।
२००१ साल असार २७ गते जन्मनु भएका गुप्तले २०२७ सालदेखि २०६१ साल सम्म जनप्रतिनिधिका रूपमा सार्वजनिक सेवा गर्नुभयो। वरगदवा गाउँ पञ्चायतको प्रधान पञ्चबाट सुरु भएको उहाँको राजनीतिक यात्रा विभिन्न जिम्मेवारी पार गर्दै कपिलवस्तु नगरपालिकाको नगर प्रमुख सम्म पुगेको थियो। लामो समय स्थानीय शासन, सामाजिक सेवा र नगर विकासमा समर्पित उहाँको जीवन सार्वजनिक सेवाप्रतिको निष्ठाको उदाहरण हो।
हिन्दु धार्मिक परम्परा अनुसार रामघाटमा वैदिक विधिबाट उहाँको अन्तिम संस्कार गरिनु र पार्थिव शरीरलाई नगर परिक्रमा गराई अन्तिम बिदाइ गरिनुले उहाँप्रति नगरवासीको आत्मीयता र सम्मान झल्काएको छ। शरीर पञ्चतत्त्वमा विलीन भए पनि मानिसले समाजमा छोडेको असल कर्म, विचार र योगदान कहिल्यै नष्ट हुँदैन। धार्मिक मान्यता अनुसार आत्माको शान्तिको कामना गर्दै गरिने श्रद्धाञ्जलीसँगै उहाँले देखाउनुभएको सेवा भावलाई आत्मसात् गर्नु नै सच्चा सम्मान हो।
गुप्तको निधनप्रति कपिलवस्तु, महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिनु सामान्य औपचारिकता मात्र होइन। फरक नेतृत्व र प्रशासनिक जिम्मेवारीमा रहेका पाँच स्थानीय तहले एउटै व्यक्तित्वप्रति संस्थागत सम्मान प्रकट गर्नु उहाँको सामाजिक तथा राजनीतिक योगदानको साझा स्वीकारोक्ति हो। यसले असल काम गर्ने व्यक्तिको सम्मान भूगोल, पद र राजनीतिक सीमाभन्दा माथि हुन्छ भन्ने सन्देश दिएको छ।
हाम्रो समाजमा व्यक्तिको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्ने परम्परा छ। तर श्रद्धाञ्जली शोकसभा, शोक विज्ञप्ति र सार्वजनिक बिदामा सीमित हुनुहुँदैन। दिवंगत व्यक्तिले समाजका लागि गरेको योगदानको मूल्याङ्कन गर्ने, उहाँका असल अभ्यासलाई निरन्तरता दिने र नयाँ पुस्तालाई सेवाभावको संस्कार सिकाउने जिम्मेवारी पनि जीवित समाजकै हो। सादा जीवन र उच्च विचारलाई आत्मसात् गर्नुभएका गुप्तको जीवनबाट वर्तमान तथा भावी जनप्रतिनिधिले जनताको सेवामा इमानदारी, धैर्य र समर्पणको पाठ सिक्न आवश्यक छ।
सार्वजनिक पद प्राप्त गर्नु ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई जनताको हितमा प्रयोग गर्नु ठूलो कुरा हो। पदमा रहँदा गरेका कामभन्दा पनि पदबाट बाहिरिएपछि समाजले गर्ने स्मरणले व्यक्तिको वास्तविक उचाइ निर्धारण गर्छ। त्यसैले जनप्रतिनिधिहरूले पद र शक्तिभन्दा सेवा, स्वार्थभन्दा समाज र प्रचार भन्दा परिणामलाई प्राथमिकता दिनुपर्छ।
राम दास गुप्तप्रति कपिलवस्तुले प्रकट गरेको सामूहिक श्रद्धाञ्जलीलाई जनसेवाको सम्मान गर्ने संस्कारका रूपमा विकास गरौँ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। उहाँले सार्वजनिक जीवनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै असल कर्म र सेवाभावलाई निरन्तरता दिनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

प्रकाशित : २९ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६