जीवनशैली

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार



सुनसरी, २९ कात्तिक

आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो । छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ । रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै रु तीन लाखभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताउनुभयो । उहाँले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताउनुभयो। छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उहाँको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उहाँले बताउनुभयो। आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् । सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ र सजावट गरिएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ । सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ । –––

प्रकाशित : ३० कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६