ब्रेकिंग न्युज

आगामी मङ्सिर १ गते राप्ती नदी दिवस मनाइँदै



नारायणगढ (चितवन), २९ कात्तिक

राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म नदी किनारका विभिन्न स्थानमा एकैसाथ बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको संयोजन तथा चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, पर्यटन व्यवसायी, मकवानपुर र चितवनका डिभिजन वन कार्यालयलगायत विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा कार्यक्रम हुन लागेको हो । अभियानका संयोजक अपिल घिमिरेले राप्ती नदीको मुहान क्षेत्र मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म एकैपटक सरसफाइ गरी नदी संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अभियान भनेको नदीलाई संरक्षण गर्नु हो । सरसफाइ गरी मङ्सिर १ गते दिवसका रूपमा मनाउन थालेका हौँ । विसं २०७२ देखि यो अभियान सञ्चालन गरेका छौँ । विगत चार वर्षदेखि दिवसकै रूपमा मनाउन थालेका हौँ ।” उहाँका अनुसार गत वर्ष एकैपटक १६ स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष अझ बढी स्थान र सङ्घसंस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ । दिवसका रूपमा एक दिन सरसफाइ गरे पनि नदी संरक्षणका लागि हरेक दिन सरसफाइमा जुट्न आवश्यक रहेको उहाँले बताउनुभयो । मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरि र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । यसका सहायक नदीहरू कर्रा, लोथर, खगेरीलगायत पनि उत्तिकै महत्वपूर्ण छन् । राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवं आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि यो नदी महत्त्वपूर्ण रहेको अभियानका संयोजक घिमिरेले बताउनुभयो । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग समेत राप्ती नदीको गहिरो सम्बन्ध रहेको छ । नदीमा फालिने प्लास्टिकजन्य फोहर तथा अन्य प्रदूषणका कारण जलचरको बासस्थान र नदीको पारिस्थितिक प्रणालीमा असर पर्दै गएको संयोजक घिमिरेको भनाइ छ । नदीमा बढ्दो मानवीय चाप र फोहरमैला न्यूनीकरण गर्दै जलचर तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न सरसफाइसँगै जनचेतना फैलाउन अभियानले सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । अभियान सबैको साझा भएकाले नदीको महत्त्व र संरक्षणको आवश्यकताबारे बुझ्न तथा सरसफाइमा सहभागी हुन उहाँले स्थानीयवासी, संरक्षणकर्मी, युवा, पर्यटन व्यवसायी र सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । दिवसका दिन बिहान ८:०० बजेदेखि आआफ्नो पायक पर्ने राप्ती नदी किनारका स्थानमा उपस्थित भई अभियानमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । —

प्रकाशित : ३० कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६